खेल

विश्वरूपा र गजेन्द्र च्याम्पियन

काठमाडौं – विभागाीय टोली त्रिभुवन आर्मी क्लबका गजेन्द्र राई र विश्वरूपा बुढाले पाँचौं ओपन रोड रेसमा उपाधि जितेका छन्। प्यारागन पब्लिक स्कुलको आयोजनामा शनिबार भएको पाँच किलोमिटर रोड रेसमा आर्मीका गजेन्द्र १५ मिनेट २७ दशमलव २५ सेकेन्ड समयका साथ च्याम्पियन भएका हुन्।

च्याम्पियन गजेन्द्रले नगद २५ हजार रुपैयाँ प्राप्त गरे। गजेन्द्रसँगै आर्मीले शीर्ष तीनमै बाजी मार्यो। आर्मीका हरिकुमार रिमाल दोस्रो तथा टीकाराज कटुवाल तेस्रो भए। हरिले निर्धारित दूरी तय गर्न १५ मिनेट ३५ सेकेन्ड समय लगाउँदा टीकाराजले १५ मिनेट ३५ दशमलव ५० सेकेन्ड समयमा दौड सिध्याए।

तिलगङ्गास्थित प्यारागन स्कुलको प्राङ्गणदेखि सुरु भएको प्रतियोगिताको महिला खुलातर्फ आर्मीकी विश्वरूपा बुढाले निर्धारित ५ किलोमिटर दूरी १८ मिनेट १ दशमलव ६६ सेकेन्डमा पूरा गर्दै च्याम्पियन भइन्। विश्वरूपाले २५ हजार रूपैयाँ प्राप्त गरिन्।

दोस्रो भएकी धादिङकी सन्तोषी श्रेष्ठले १८ मिनेट २० दशमलव २९ सेकेन्डमा र तेस्रो स्थानकी नेपाल पुलिसकी राजपुरा पचहाईले १८ मिनेट ३२ दशमलव २० सेकेन्ड दूरी पूरा गरिन्। दोस्रोले १५ हजार र तेस्रोले समान १० हजार रूपैयाँ प्राप्त गरे। ब्वाइज ओपनमा सन्तोषनाथ योगी पहिलो, नवीन कार्की दोस्रो र आलोक थापाले तेस्रो स्थानमा रहे। गल्र्स ओपनमा पहिलो भएकी विनीता स्याङ्तान १० हजार रुपैयाँ प्राप्त गरिन्।

त्यस्तै विलाक्षी गौतम र एलिना केसी दोस्रो एवं तेस्रो स्थानमा रहँदा क्रमशः ५ हजार र २ हजार ५ सय रूपैयाँ प्राप्त गरे। अल्मुनाइतर्फ पुरुषमा पेम्बा शेर्पा र महिलामा रविना श्रेष्ठ च्याम्पियन भए। दुवैले समान १० हजार रूपैयाँ पाए। इनहाउस अभिभावकतर्फ करातेकी राष्ट्रिय खेलाडी अनु अधिकारी पहिलो भइन्।

सुनीता राई दोस्रो तथा करातेकै तारा गुरुङले तेस्रो स्थानमा रहिन्। पुरुषतर्फ भेगबहादुर पहारी, किरण राई र निमा दोर्जे लामा क्रमशः पहिलो, दोस्रो र तेस्रो भए। करिब १ हजार जना धावकले प्रतिस्पर्धा गरेको म्याराथन तिलगङ्गास्थित प्यारागन स्कुलको प्राङ्गणबाट सुरु भई गौशला, बत्तीसपुतली, पुरानो बानेश्वर, सिनामङ्गल, एयरपोर्ट हुँदै स्कुल प्राङ्गणमा आएर सकिएको प्रतियोगिताका सदस्य मन्डेकाजी श्रेष्ठले जानकारी दिए।

विजेतालाई अनुराधा कोइराला, पूर्वसभासद् गीता राणा, स्कुलकी प्रिन्सिपल बीना बानु र स्कुलका प्रबन्ध निर्देशक साकिर उद्दिनले पुरस्कृत गरे। सोही अवसरमा विश्व बडिबिल्डिङ च्याम्पियनसिपमा नेपालाई स्वर्ण दिलाएका महेश्वर महर्जनलाई २५ हजार रुपैयाँसहित विशेष सम्मान गरिएको मन्डेकाजी श्रेष्ठले जानकारी गराए।

प्रकाशित: ५ फाल्गुन २०७५ ०५:१४ आइतबार

विभागाीय_टोली गजेन्द्र_राई विश्वरूपा_बुढा ओपन_रोड_रेस उपाधि