खेल

क्यामरुनी क्लबलाई उपाधि

च्याम्पियन डाउफिन्स एफसी क्यामरुनका खेलाडीहरु ट्रफीसहित। तस्बिर : रोहित राई/नागरिक

धरान – आयोजक धरान फुटबल क्लबलाई टाइब्रेकरमा पराजित गर्दै डाउफिन्स एफसी, क्यामरुनले २१औं बुढासुब्बा रेडबुल गोल्डकप प्रतियोगिताको उपाधि जितेको छ।

धरान १६ स्थित रंगशालामा शनिबार सम्पन्न फाइनलमा टाइब्रेकरमा आयोजकलाई ३–२ ले निराश बनाउँदै डाउफिन्सले उपाधि जितेको हो। डाउफिन्सले बुढासुब्बा गोल्डकपको पहिलो सहभागितामै उपाधि जितेको हो। निर्धारित ९० मिनेटको खेलमा दुवै टोलीबाट निर्णायक गोल हुन नसकेपछि खेलको छिनोफानो टाइब्रेकरबाट भएको हो। जितसँगै डाउफिन्सले नगद ८ लाख पुरस्कार र ट्रफी हात पार्यो भने उपविजेता धरानले ४ लाखमा चित्त बुझायो। पाँचौं पटक फाइनल खेलेको आयोजकको घरेलु मैदानमा पहिलो पटक उपाधि जित्ने चाहना यसपालि पनि अधुरै रह्यो।

पाहुना टोली डाउफिन्सले एक साताभित्रै यो दोस्रो उपाधि उचालेको हो। यसअघि फागुन २८ मा मनकामना केवलकार पोखरा कपमा पनि डाउफिन्स च्याम्पियन बनेको थियो। शारीरिक रूपमा बलिया क्यामरुनका खेलाडीले खेलअवधिभर थुप्रै गोल गर्ने अवसर पाए पनि खेर फालेका थिए। सुरुदेखि नै आयोजकलाई दबाबमा राखेको डाउफिन्सको आधा दर्जन प्रयासलाई गोलकिपर विनय श्रेष्ठले उत्कृष्ट बचाउ गर्दै खेल टाइब्रेकरसम्म पुर्याएका थिए। धरानले अपेक्षाअनुरूप विपक्षीको पोस्टमा आक्रमण बुन्न सकेन।

निर्णायक प्रहारमा डाउफिन्सका यानिक ओवानाले गोल गर्दा धरानका हेमन्त थापामगर चुके। उनको प्रहार डाउफिन्सका गोलकिपर प्रिसोले रोकेपछि उपाधि जित्ने आयोजकको सपनामा पूर्णविराम लाग्यो।

टाइब्रेकरमा धरानका प्रकाश बुढाथोकीको पहिलो प्रहार गोलमा परिणत भए पनि मिलन राईको दोस्रो प्रहार डाउफिन्सका गोलकिपर प्रिसोले रोके भने योगेश रार्ईको तेस्रो प्रहार अकासिँदा हजारौं घरेलु दर्शक निराश बने। डाउफिन्सका खेलाडी  जो अंगोला र पेटेङ्गाका पहिलो र दोस्रो प्रहार गोलमा परिणत भए पनि विइक विइक र इलेवेमको प्रहार अकासिँदा धरानको आशा जीवित थियो। धरानको चौथो प्रहार दोर्जे तामाङले गोलमा परिणत गरेपछि टाइब्रेकर २–२ को स्थितिमा पुग्यो। तर, निर्णायक प्रहारमा डाउफिन्सका यानिक ओवानाले गोल गर्दा धरानका हेमन्त थापामगर चुके। उनको प्रहार डाउफिन्सका गोलकिपर प्रिसोले रोकेपछि उपाधि जित्ने आयोजकको सपनामा पूर्णविराम लाग्यो।

डाउफिन्सका प्रशिक्षक अरेल इनेमले आयोजकले उत्कृष्ट खेलेका कारण जित्न निकै कठिन भएको प्रतिक्रिया दिए। ‘हामीले धेरै अवसर गुमायौं, धरानले पनि राम्रो खेल्यो,’ उनले भने,‘हामीले जित्यौं, धरान र फुटबल क्लबलाई धन्यवाद छ।’ आयोजकका प्रशिक्षक सागर घिमिरेले खेलाडीहरूले राम्रो खेलेको तर टाइब्रेकरमा हार्नु दुर्भाग्य भएको बताए। ‘क्यामरुनी खेलाडीहरूसँग खेल्न निक्कै गाह्रो थियो, तर हामीले राम्रो खेल्यौं। टाइब्रेकरमा हार्नु ब्याडलक भयो,’ उनले भने।

फाइनल खेलको म्यान अफ दी म्याच धरानका गोलकिपर विनय श्रेष्ठ घोषित हुँदै नगद १५ हजार थापे भने प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै धरानका विष्णु सुनारले डियो स्कुटर पाए। प्रतियोगिताको हाइ स्कोरर डाउफिन्सका एन्जमा यानिकले नगद ३५ हजार पाए। डाउफिन्सकै गोलकिपर प्रिसो प्रतियोगिताको उत्कृष्ट गोलकिपर र डाउफिन्सकै अरेल इनेम उत्कृष्ट प्रशिक्षक  भए।

यस्तै, प्रतियोगिताको उत्कृष्ट रक्षक धरानका मनोज राई, उत्कृष्ट मिडफिल्ड हेमन्त थापा र उत्कृष्ट स्ट्राइकर पनि धरानकै मिलन राई घोषित भए। उत्कष्ट घोषित प्रशिक्षक र खेलाडीहरूले जनही नगद २५ हजार र ट्रफी हात पारे। खेलाडीहरूलाई आयोजक क्लबका अध्यक्ष किशोर राई, प्रमुख अतिथि एवं प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई, अर्थमन्त्री इन्द्र आङ्बो, सभामुख प्रदीपकुमार भण्डारी, सभासद् उमिता बराइलीलगायतले पुरस्कार तथा पदक वितरण गरेका थिए।

प्रकाशित: ५ फाल्गुन २०७५ ०४:३६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App