खेल

सेमिफाइनलमा पुग्ने थ्री स्टारको लक्ष्य

फुनसोलिड, भुटान - रुस्लान थ्री स्टार क्लब शनिबार फुुुनसोलिडमा जारी जिग्मे दोर्जी वाङचुक मेमोरियल गोल्डकपमा उजेन एफसीको सामना गर्दा सेमिफाइनल लक्ष्यमा हुनेछ।

भुटान, नेपाल र भारतका टोली गरि कुल १२ टोलीको सहभागिता रहेको प्रतियोगितामा थ्री स्टार र त्रिभुवन आर्मी क्लबले सोझै क्वार्टरफाइलमा प्रवेश पाएका थिए। प्रतियोगितामा थ्री स्टार, आर्मीका साथै भुटानको थिम्पु एफसी, फुुुनसोलिड एसए, हाइ क्वालिटी युनाइटेड, उजेन एफसी, पारो एफसी, डुर्क एफसी, भारतको कालिङपोङ एफसी र आसाम एफसी सहभागी छन्।

उजेनले पहिलो खेलमा भुटानकै डुर्क युनाइटेडलाई हराएको थियो। प्रशिक्षक मेघराज केसीले सहिद स्मारक ‘ए’ डिभिजन लिगपछि टोलीले निरन्तर घरेलु प्रतियोगिता खेलेकाले स्वभाविक लयमा रहेको बताए। ‘हामीले लिगपछि निरन्तर विभिन्न प्रतियोगितामा सहभागिता जनाइरहेका छौं,’ प्रशिक्षक केसीले भने,‘ त्यसैले टोलीले उच्च प्रदर्शन गर्नेछ। खेलाडीहरु पनि फिट छन्।’

लिगमा तेस्रो भएको थ्री स्टारले त्यसपछि खप्तड गोल्डकप, पोखरा मनकामना केबलकार गोल्डकप, मदनभण्डारी गोल्ड कप र सिमरा गोल्डकपमा सहभागिता जनाएको थियो। सिमरा गोल्डकप जितेको थ्री स्टार खप्तडमा भने उपविजेतामा सीमित भयो। तर, थ्री स्टार मदनभण्डारी गोल्डकप र मनकामना पोखरा केबलकार गोल्डकपको पहिलो चरणबाट बाहिरिएको थियो।

केसीले लिगपछि केही नयाँ खेलाडी भित्रिएकाले टोलीको मनोबल उच्च भएको बताए। अनन्त तामाङ टोलीमा फर्किएका छन् भने दिनेश राजवंशी पनि टोलीमा आएका छन्। लिग खेले पनि त्यसपछिका घरेलु प्रतियोगितामा नभएका विदेशी खेलाडी पिटर सेगुन र अजय मार्टिन टोलीमा फर्किएकाले टोली सन्तुलित बनेको छ।

‘हामी सुखद नतिजाका साथ अघिल्लो चरण प्रवेश गर्नेमा आशावादी छाैँ,’ प्रशिक्षक केसीले भने, ‘हामी शारिरिक र मानसिक रूपमा बलियो भएकाले उत्कृष्ट खेल्न तयार छौं। करिब ३० घण्टा लामो यात्राका कारण खेलाडी केही थकानमा भए पनि राम्रो खेल्ने छौ।’‘हामीले उजेको खेल हेरेका छैनाैं,’ प्रशिक्षक केसीले भने,‘त्यसैले रंगशालामा गएपछि मात्र खेल रणनीती बन्नेछ।’ भुटानकै पुरानो प्रतियोगितामध्येको एक जिग्मे दोर्जी वाङचुक मेमोरियल गोल्डकप २००६ पछि पहिलोपटक हुन लागेको हो। कप्तान विक्रम लामाले सबै खेलाडी फिट भएकाले स्वभाविक लय अनुसारको प्रदर्शन गर्ने बताए।

‘टोली सन्तुलित छ। केही खेलाडी थपिएका छन्,’ कप्तान विक्रमले भने, ‘नयाँ खेलाडीसहितको टोलीले राम्रो खेल्नेमा आशावादी छु। उनीहरुको उपस्थितीले टोली मजबुत बनेको छ।’ लिगपछि पहिलोपटक विदेशी खेलाडी पिटर सेगुन र अजय मार्टिन टोलीमा फर्किएकाले टोली सन्तुलित बनेको छ।

आर्मी फराकिलो जित
प्रतियोगिताअन्तर्गत शुक्रबार भएको खेलमा नेपालको विभागीय टोली त्रिभुवन आर्मी क्लबले भुटानको थिम्पु क्लबलाई ६–० को फराकिलो अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको छ। फराकिलो जित दिलाउन आर्मीका कप्तान भरत खवासले दुई गोल गरे भने नवयुग श्रेष्ठ, विमल पाण्डे, सन्तोष तामाङले सामन एक÷एक गोल थपे। आर्मीले एक गोल भने उपहार पायो।

घरेलु टोलीमाथि हाबी भएको आर्मीले पाँचौं मिनेटमा भरतको गोलबाट अग्रता लियो। ३१औं मिनेटमा नवयुगले टोलीका लागि दोस्रो गोल गर्दा ३६औं मिनेटमा भरतले अर्को गोल थपेपछि आर्मीले अग्रता ३–० मा पु-यायो।

उत्कृष्ट खेल देखाएको आर्मीका लागि अन्तिम मिनेटमा विमल पाण्डेले गोल गर्दै टोलीलाई पहिलो हाफमा ४–० को अग्रता दिलाए। पहिलो हाफमा भन्दा दोस्रो हाफमा सुधारिएको प्रदर्शन गरेको घरेलु टोली थिम्पुले सन्तुलित प्रदर्शन गर्यो। तर आर्मीको आक्रामक खेललाई रोक्न सकेन। ७८औं मिनेटमा सन्तोष तामाङले गोल गर्दै अग्रता फराकिलो पार्दा मिगम सी जिग्मीले उपहार गोल प्रदान गरे।

प्रकाशित: ४ फाल्गुन २०७५ ०२:५१ शनिबार

रुस्लान_थ्री_स्टार_क्लब जिग्मे_दोर्जी_वाङचुक_मेमोरियल_गोल्डकप उजेन_एफसी त्रिभुवन_आर्मी_क्लब