खेल

सन्दीपकाे टाेली उपाधि नजिक

काठमाडाैं - अष्ट्रेलिएन बिग ब्यास लिगमा सन्दीप लामिछाने सम्मिलित मेलवर्न स्टार्स उपाधि नजिक पुगेको छ। बिहीबार सम्पन्न प्रतियोगिता अन्तर्गतको पहिलो सेमिफाइनल खेलमा होबार्ट हुरीकेन्सलाई ६ विकेटले पराजित गर्दै मेलवर्न फाइनल प्रवेश गरेको हो।

जितका लागि १ सय ५४ रनको लक्ष्य पछ्याएको मेलवर्नले उक्त लक्ष्य १८ दशमलव ५ ओभरमा ४ विकेटको क्षतिमा भेट्टायो। मेलवर्नका लागि कप्तान ग्लेन म्याक्सवेलले अविजित ४३ रन प्रहार गरे। ३३ बल सामना गरेका उनले टोलीका लागि सर्वाधिक रन प्रहार गरे। यस्तै ह्याण्ड्सकम्बले ३५ तथा सेब गोचले अविजित ३३ रन जोडे। होबार्टका क्विस अहमदले ३ विकेट लिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको होबार्टले बेन म्याकडर्मोटको अर्धसतकीय पारीमा निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ५३ रन बनाएको थियो। बेनले ५३ रन बनाए। यस्तै जर्ज बेलीले ३७ तथा डीआर्सि सर्टले ३५ रन बनाउनु वाहेक अन्यले दोहोरो अंक समेत जोड्न सकेनन्। कप्तान म्याथ्यु वेड २ रनमा आउट भए। मेलवर्नका ड्यानिएल वरालले ४ विकेट लिए।

यसैबीच होबार्ट विरुद्धको सेमिफाइनल खेलमा भने सन्दीप विकेट विहिन हुन पुगे। ४ ओभर बलिङ गरेका उनले ३१ रन खर्चिए। उनले आफ्नो स्पेलमा  ३ चौका दिए। सन्दीप युएई विरुद्धको खेलपछि उतैबाट बिग ब्यासका बाँकी खेल खेल्न अष्ट्रेलिया गएका थिए।

 

प्रकाशित: २ फाल्गुन २०७५ १२:४१ बिहीबार

बिग_ब्यास_लिग सन्दीप_लामिछाने मेलवर्न_स्टार्स