खेल

काेलकातामाथि आयोजक हाबी

कोलकाताका खेलाडी (नीलो) लाई रोक्ने प्रयासमा धरानका खेलाडी । तस्बिर : रोहित राई/नागरिक

धरान – पाहुना टोली डलहाउसी एथलेटिक क्लब कोलकाताविरुद्ध २–० को सहज जित हात पार्दै आयोजक धरान फुटबल क्लब २१औं बुढासुब्बा रेडबुल गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ।

धरान १६ स्थित रंगशालामा जारी प्रतियोगितामा मंगलबार घरेलु मैदानमा उत्कृष्ट प्रदर्शन गर्दै आयोजकले अन्तिम चारमा स्थान बनाएको हो। घरेलु मैदानमा मिलन राई र वर्तमान राईले आयोजकलाई सानदार जित दिलाए। दुवैले पहिलो हाफमा गोल गर्दै घरेलु दर्शकको मन जितेका थिए। यसपालि आयोजकले सबै धराने खेलाडीलाई मैदानमा उतारेको छ। विजेता टोली धरानले सेमिफाइनलमा संकटा क्लबको सामना गर्नेछ। संकटाले पहिलो खेलमा मेची नेत्रालय केएफटिसी झापालाई सडन डेथमा हराउँदै सेमिफाइनल पुगेको थियो। संकटा र आयोजकबीच फागुन २ गते पहिलो सेमिफाइनल हुनेछ।

मंगलबार खेल सुरु भएको नवाैं मिनेटमा मिलन राईले गोल गर्दै धरानलाई अग्रता दिलाए। डलहाउसीका खेलाडीको मिस पासबाट उनले सेन्टरमा बल पाएका थिए।  उक्त बललाई एक्लै अघि बढाउँदै डी बक्सनजिकबाट पहिलो बार च्यापेर गरेको प्रहार कोलकाताका किपर एस सिंहले प्रयास गरे पनि रोक्न सकेनन्। खेलको २३औं मिनेटमा वर्तमान राईले घरेलु दर्शकलाई दोस्रो गोलको उपहार दिए। डिफेन्स योगेश राईले यनलाई लामो पास निकालिदिएका थिए। कोलकाताका गोलकिपर एस सिंहले बललाई नियन्त्रण लिन भन्दै डी बक्सबाहिर पुगेको मौकामा वर्तमानले आकर्षक चिप गर्दै जाली चुमाए।

पहिलो हाफमा २–० ले पछि परेको कोलकाताले दोस्रो हाफमा आक्रामक  भए पनि धरानको डिफेन्स लाइन तोड्न सकेन। खेलअवधिभर दुवै टोलीले पाएको केही मौकालाई सदुपयोग गर्न सकेनन्। खेलको २४औं मिनेटमा धरानका बिटु तामाङको पासमा हेमन्त थापा मगरले गरेको प्रहार गोलकिपरले बचाए भने २६औं मिनेटमा हेमन्तको पासमा सौजन लिम्बुको हेड पनि कोलकाताका गोलकिपर एस सिंहले बचाए। दोस्रो हाफको ४ मिनेटमा वर्तमान राईको पासमा मिलन राईको प्रहार फितलो हुँदा गोलकिपरले सहजै समात्यो भने ४१औं मिनेटमा मनोज राईको पासमा वर्तमानले डी बक्सभित्रै भली प्रहार गरे पनि सफल भएनन्। इन्जुरी समयमा वन भर्सेस वनमा मिलन राई चुक्दा गोलअन्तर अझै फराकिलो बन्न सकेन।

दुई वर्षअघिसम्म कोलकाता सुपर लिगबाट बढुवा भई लगातार ५ वर्ष प्रिमियर डिभिजन खेलेको डलहाउजीले पनि पाएको मौका सदुपयोग गर्न सकेन। खेलको १७आैं मिनेटमा जी मण्डलको पास डी एलनाले हेड गर्नुअघि नै धरानका किपर विनय श्रेष्ठले समाते भने ३३औं मिनेटमा डी एलेनाको पासलाई ए रोयले डी बक्सबाट प्रहार गर्दा बल अकासिएको थियो। यस्तै, पहिलो हाफको इन्जुरी समयमा पनि रोयल डी बक्सबाटै गरेको प्रहार बाहिरिनु कोलकाताका लागि दुर्भाग्य बन्यो। दोस्रो हाफमा खेलमा पकड कायम गर्न प्रयास गरे पनि कोलकाताले विपक्षी टोलीको गोलपोस्टमा खतारनाक आक्रमण बुन्न भने सकेन। खेलको ५६औं मिनेटमा डी एलेनाको कडा प्रहारलाई धरानका गोलकिपर विनय श्रेष्ठले रोकेर असफल बनाइदिए।

खेलको म्यान अफ दी म्याच धरानका वर्तमान राई घोषित भए। उनले नगद १५ हजार र ट्रफी हात पारे। धरानका प्रशिक्षक सागर घिमिरेले खेलाडीहरूले सोचेभन्दा राम्रो खेलेको भन्दै खुसी व्यक्त गरे। ‘४ वर्षको अन्तरालमा अहिलेसम्मकै उत्कृष्ट टोली छ, र आजको खेल पनि उत्कृष्ट नै भयो,’ प्रशिक्षक घिमिरेले भने, ‘सेमिफाइनलमा अझ मिहिनेत गर्छां।’ कोलकाताका प्रशिक्षक सुप्रियादास गुप्ताले पहिलो हाफमा मौका पाउँदा पनि गोल गर्न नसक्दा र उल्टै २ गोल खाएपछि खेलमा फर्कन नसकेको प्रतिक्रिया दिए। ‘मौका पाएको हो, गोल गर्न सकेनन्। फुटबलमा स्कोर चाहिन्छ,’ उनले भने,‘यो नयाँ टिमसेट पनि हो, त्यसैले पनि तालमेलमा केही समस्या भयो।’ उनका अनुसार सन् १८८० मा स्थापना भएको यो क्लब कोलकाताको सबैभन्दा पुरानो क्लब हो। प्रतियोगितामा आज बुधबार विभागीय टोली एपिएफ क्लब काठमाडौं र डउफिन्स क्यामरुनबीच अन्तिम क्वार्टरफाइनल हुनेछ।

प्रकाशित: १ फाल्गुन २०७५ ०२:४६ बुधबार

धरान धरान_फुटबल_क्लब बुढासुब्बा_गोल्डकप डलहाउसी_एथलेटिक_क्लब