खेल

पुलिस र संकटालाई सडन डेथमै सफलता

पुलिसका रवि पासवान (राता जर्सी) लाई रोक्न प्रयास गर्दै सहाराका खेलाडी । तस्बिर : रोहित/नागरिक

धरान – पोखरेली टोली सहारा क्लबलाई सडन डेथमा पराजित गर्दै चार पटकको विजेता नेपाल पुलिस क्लब २१औं बुढासुब्बा रेडबुल गोल्डकपको सेमिफाइलनमा प्रवेश गरेको छ। 

धरान १६ स्थित रंगशालामा सोमबार निर्धारित समयको खेल र टाइब्रेकर पनि बराबरी भएपछि खेल सडन डेथमा पुगेको थियो। सडन डेथमा पुसिलका भरत साहले गोल गर्दा सहाराका अञ्जन देवकोटा गोल गर्न चुकेपछि पुलिस विजयी भयो। निर्धारित समयको खेल १–१ को बराबरीमा सकिएको थियो। 

खेल बराबरीमा सकिएपछि सीधै टाइब्रेकरमा लगिएको थियो। टाइब्रेकरमा पनि ३–३ को बराबरी भयो। पुलिसका अजित भण्डारी, देवेन्द्र तामाङ र सुमन सुवेदीले लगातार गोल गर्दा सुशील लामा र हरि कठायत चुकेका थिए। दुवैको प्रहार सहाराका गोलकिपर लक्कीकुमार कार्कीले रोके। सहाराका गोविन्द थापाको पहिलो प्रहार नै पुलिसका गोलकिपर शत्रुघ्न चौधरीले रोके। त्यसपछि, विश्व अधिकारी, विनोद गुरुङ र जनक कार्कीले गोल गरे पनि रमेश मगरको अन्तिम प्रहार माथिल्लो बारमा ठोक्किएर फर्किएपछि खेल सडन डेथमा पुगेको थियो।

यसअघि ३३औं मिनेटमा रवि पासवानको पासमा नीरकुमार राईले आकर्षक गोल गर्दै पुलिसलाई अग्रता दिलाएका थिए। तर, दोस्रो हाफको ८४औं मिनेटमा विश्व अधिकारीले पेनाल्टीमार्फत गोल गर्दै खेल बराबरी ल्याए। डी बक्सभित्र पुलिसका अजित भण्डारीको ह्यान्ड भएपछि सहाराले पेनाल्टी पाएको थियो।

युवा खेलाडीसहित मैदानमा उत्रिएको पुलिसले पहिलो हाफमा पाएका मौका सदुपयोग नगर्दा जितको लागि सडन डेथसम्म संघर्ष गर्नुपर्‍यो। खेल सुरु भएको ९ मिनेटमै भरत साहको प्रहार सहाराका गोलकिपरले समाते भने १४औं मिनेटमा अजित भण्डारीले गोल गर्ने अवसर सिर्जना गरे पनि तीर्थ राना मगर चुक्दा पुलिसको जित सहज बनेन। यस्तै, २९औं मिनेटमा भरत साहकै कडा प्रहारलाई सहाराका करिम बुसरीले डी बक्सबाट क्लियर गरिदिए भने ४२औं मिनेटमा भरतकै पासमा तीर्थ रानाको प्रहार गोलकिपरको हातमा पुग्यो। खेलको दोस्रो हाफमा पुलिसले गतिलो प्रहार गर्न  सकेन। 

सहाराले पनि खेलको आठौं मिनेटमा मौका पाए पनि सदुपयोग गरेन। विश्व अधिकारीको फ्रिकिक  बल डी बक्सभित्र पाउँदा पनि सुशील लामाको प्रहार बाहिरियो। दोस्रो हाफमा आक्रामक बनेको सहाराका तर्फबाट खेलको ४७ औं मिनेटमा सुशील लामाले गरेको कर्नरलाई पुलिसका गोलकिपरले  पन्च गरेर जोगाए भने ५० औं मिनेटमा विश्व अधिकारीको फ्रिकिक प्रहारलाई पुलिसका गोलकिपरले समाते। सो खेलको ‘म्यान अफ दी म्याच’  पुलिसका नीरकुमार राई घोषित भए। उनलाई नगद १५ हजार र ट्रफी संघीय प्रहरी एकाई कार्यालयका एसएसपी शरद खत्रीले  वितरण गरेका थिए।
सडन डेथमा पनि बराबरी भएर रोकिएको  आइतबारको उद्घाटन खेलको निर्णय  सोमबार हुँदा सिएमजी संकटा क्लबले जित हात पारेको छ। सोमबार बिहान मेची नेत्रालय केएफटिसी झापालाई  सडन डेथमे हराउँदै संकटा सेमिफाइनल पुगेको हो।

आइतबार सडन डेथमा पनि दुवै टोलीबाट निर्णायक गोल हुन नसकेपछि प्रकाशको अभावमा खेल रोकिएको थियो। सोमबार बिहान सीधै सडन डेथ हुँदा संकटाले बाजी मार्‍यो। दुवै टोलीको पहिलो प्रहार गोलमा परिणत भएपछि दोस्रो पेनाल्टीमा संकटाका सेड्रिक अबाले निर्णायक गोल गरे भने झापाका दिलेन लोक्ताम गोल गर्न चुके। लोक्तामको प्रहारलाई संकटाका गोलकिपर राजाबाबु थापाले रोके। उनीहरूभन्दा अघि संकटाका अमित तामाङ र झापाका पूजन उपरकोटीको प्रहार गोलमा परिणत भएको थियो।

आइतबार दिउँसो निर्धारित समयको उद्घाटन खेल २–२ गोलको बराबरीमा टुंगिएको थियो। त्यसपछि टाइब्रकेरमा ५ पेनाल्टी प्रहार भए पनि दुवै टिमबाट ४–४ गोल भयो। त्यसपछि सडन डेथमा ६–६ पेनाल्टी प्रहार हुँदा बराबरी ५–५ गोल भएको थियो। सडन डेथमा झापाको पेनाल्टी रोकेर संकटालाई जित दिलाएका गोलकिपर राजाबाबु थापा खेलको म्यान अफ दी म्याच घोषित भए। आयोजक क्लबका अध्यक्ष किशोर राईले गोलकिपर थापालाई नगद १५ हजारसहित ट्रफीबाट पुरस्कृत गरे। प्रतियोगितामा मंगलबार आयोजक धरान फुटबल क्लब र डलहउजी एथलेटिक क्लब कोलकाताबीच खेल हुनेछ।

प्रकाशित: २९ माघ २०७५ ०१:१८ मंगलबार

बुढासुब्बा गोल्डकप नेपाल_पुलिस_क्लब सहारा_क्लब