खेल

सन्दीपको टोली सेमिफाइनलमा

काठमाडौं – नेपाली युवा स्पिनर सन्दीप लामिछानेले तीन विकेट लिएको खेलमा मेलबर्न स्टार्सले सिड्नी सिक्सर्समाथि फराकिलो जित निकाल्दै अस्ट्रेलियामा जारी बिग ब्यास क्रिकेट लिगको सेमिफाइनलमा स्थान बनाएको छ। मेलबर्न क्रिकेट ग्राउन्डमा आइतबार भएको लिगको अन्तिम खेलमा सिक्सर्समाथि ९४ रनको फराकिलो जित निकाल्दै सन्दीपको क्लब सेमिफाइनल पुग्न सफल भएको हो। लिगको १४औं खेल समाप्तिमा मेलबर्न ७ जितमा १४ अंकसहित लिगको चौथो स्थानमा पुगेको हो। पराजित सिक्सर्स भने यसअघि नै सेमिफाइनलमा पुगिसकेको छ।

१४ खेलमा समान १६ अंक भए पनि मेलबर्न रेनेगेड्ससँग रनरेटमा पछि पर्दै सिक्सर्स तेस्रो स्थानमा छ।  शीर्ष स्थानको होबर्ट ह्युरिकेन्सले पनि १४ खेलमा २० अंक बनाएको छ। आइतबार टस हारेपछि पहिले ब्याटिङको निम्तो पाएको सन्दीपको क्लब मेलबर्न स्टार्सले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ६८ रनको योगफल प्रस्तुत गरेको थियो। 

उसका लागि कप्तान ग्लेन म्याक्सवेलले सर्वाधिक ८२ रन बनाउँदा मार्कस स्टोनिसले ३४ रन र पिटर ह्यान्ड्सकम्बले ३५ रनको योगदान दिएका थिए। जबाफी ब्याटिङमा उत्रिएको सिक्सर्स खराब ब्याटिङको सामना गरेपछि १३.४ ओभरमा ७४ रनमै समेटिएको थियो। सिक्सर्सका लागि ड्यानियल हग्सको १२ रन नै व्यक्तिगत सर्वाधिक स्कोर थियो। मेलबर्नका लागि सन्दीपले तीन विकेट तथा ड्यानियल ओरल र एडम जाम्पाले समान २ विकेट लिँदै सिक्सर्सको इनिङ धराशयी पारेका थिए। ग्लेन म्याक्सवेल र ज्याक्सन बर्डले थप १÷१ विकेट निकालेपछि सिक्सर्स पूरै ओभर टिक्नै सकेन।  

 

प्रकाशित: २८ माघ २०७५ ०५:०३ सोमबार

सन्दीप_लामिछाने मेलबर्न_स्टार्स सन्दीप सेमिफाइनल