खेल

भारतलाई ४ रनले पराजित गर्दै न्युजिल्याण्डले जित्याे टी-२० सिरिज

काठमाडाैं - न्युजिल्याण्डले भारत विरुद्धको टी-ट्वान्टी श्रृङ्खला २-१ ले आफ्नो पक्षमा पारेको छ। तीन खेलको सिरिज एकएकको बराबरी रहेको अवस्थामा आइतबार सम्पन्न रोमाञ्चक अन्तिम खेलमा घरेलु टोली न्युजिल्याण्डले भारतलाई ४ रनले पराजित गरेको हो।

सेडन पार्क ह्यामिल्टनमा न्युजिल्याण्डले दिएको २ सय १३ रनको विजयी लक्ष्य पछ्याएको भारतले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २ सय ८ रन मात्रै जोड्न सकेपछि न्युजिल्याण्डले यसअघि एकदिवसीय सिरिजमा ४-१ ले भोगेको हारको बदला समेत लिएको छ।

भारतलाई जितका लागि अन्तिम ओभरमा १६ रन आवश्यक रहेको अवस्थामा न्युजिल्याण्डका लागि बलिङ गर्न आएका टिम साउथीले मात्र ११ रन दिए। उनले पहिलो बलमा २, दोस्रो र तेस्रोमा शुन्य,चौथो र पाँचौंमा १ तथा अन्तिम बलमा ६ रन दिए। उनले अन्तिम बल अघि एक वाइड दिए। भारतका लागि विजय शंकरले सर्वाधिक ४३, रोहित शर्माले ३८, रिशव पन्तले २८ तथा हार्दिक पाण्ड्याले २१ रन बनाए। दिनेश कार्तिक र क्रुनाल पाण्ड्याले अविजित रहँदै क्रमशः ३३ र २६ रन बनाएपनि टोलीलाई जित भने दिलाउन सकेनन्। न्युजिल्याण्डका मिचेल स्यान्टनर र ड्यारिल मिचेलले समान २/२ विकेट लिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २ सय १२ रन बनाएको थियो। न्युजिल्याण्डका लागि कोलिन मुन्रोले सर्वाधिक ७२ तथा टिम सेफर्टले ४३ रन बनाए। भारतका कुलदिप यादवलाई २ विकेट लिए।

 

प्रकाशित: २७ माघ २०७५ १०:४९ आइतबार

न्युजिल्याण्ड भारत क्रिकेट