खेल

मिति तोक्न अझै अलमल

काठमाडौं – बिहीबार बसेको आठौं राष्ट्रिय खेलकुद कार्यकारी समितिको बैठकले राष्ट्रिय खेलकुदको प्रदेशस्तरीय छनोटको मिति र स्थान तय गरेको छ। यद्यपि आठौं राष्ट्रिय खेलकुदको मिति भने तोक्न सकेन। जसका कारण प्रतियोगिता अनिश्चित भएको छ। 

आठौं राष्ट्रिय खेलकुदको मुख्य केन्द्र नेपालगन्ज रंगशालाको भिआइपीतर्फको प्यारापिट बन्ने समयको टुङ्गो नलागेकाले मिति तय हुन नसकेको हो। प्यारापिटको सामान भारतको कोलकाता बन्दरगाहमा रोकिएकाले पूर्वाधार निर्माण सम्पन्न हुने समय यकिन हुन सकेको छैन। सोही कारण आठौं राष्ट्रिय खेलकुदको मिति तय गर्न बसेको कार्यकारी समितिको बैठकले निर्णय गर्न सकेन भने प्रदेश छनोटको उद्घाटन स्थल र मिति तय गरेको छ।

प्रदेश १ को विराटनगर मा फागुन ७ गते, प्रदेश २ को वीरगन्जमा फागुन ५ गते, प्रदेश ३ को चितवनमा फागुन ६ गते, प्रदेश ४ को पोखरामा ४ गते, प्रदेश ५ को नेपालगन्जमा ११ गते, कर्णाली प्रदेशको सुर्खेतमा १३ गते र सुदूरपश्चिको धनगढीमा ३ गते प्रदेश छनोटको उद्घाटन हुनेछ। यस्तै जिल्लाले प्रदेशस्तरीय छनोटका लागि मागेको खेलाडीको कोटा र खेलसंख्यालाई अनुमोदन गरेको छ। यस्तै बैठकले प्रतियोगिता सञ्चालनमा लाग्ने ४७ करोड रुपियाँ अर्थमन्त्रालयसँग माग गर्ने निर्णयसमेत गरेको छ।

स्रोतका अनुसार राष्ट्रिय खेलकुद आयोजना गर्न फागुनको अन्तिम सातादेखि गर्न सिफारिस गर्ने तयारीमा कार्यकारी समिति रहेको छ।

प्रकाशित: २५ माघ २०७५ ०४:४८ शुक्रबार

आठौं_राष्ट्रिय_खेलकुद मिति अलमल