खेल

म्यानचेष्टर सिटी प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा

काठमाडौं – एभर्टनलाई २–० गोलले पराजित गर्दै साविक विजेता म्यानचेष्टर सिटी इङ्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ।

एभर्टनको घरेलु मैदानमा बुधबार राति सम्पन्न खेलमा सिटीको जितमा एमिरीक लार्पोटी र गाब्रियल जेससले एक–एक गोल गरे। पहिलो हाफको इन्ज्युरी समयमा लार्पोटीले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए। त्यस्तै दोस्रो हाफको इन्ज्युरी समयमा जेससले गोल गर्दै सिटीलाई २–० को सहज जित दिलाए।

सिटीले पछिल्ला पाँच खेलमा चौंथो जित निकालेको हो। जितसँगै सिटीले लिभरपुलसँग अंक बराबरी गरेपनि गोल अन्तरका आधारमा शीर्ष स्थानमा पुगेको हो। २६ खेलबाट सिटीको ६२ अंक छ। एक खेल खेलेको लिभरपुलको पनि समान अंक छ। समान खेलबाट ३३ अंक जोडेको एभर्टन ९ औं स्थानमा छ।

प्रकाशित: २४ माघ २०७५ ०४:०१ बिहीबार

म्यानचेष्टर_सिटी इङ्लिस_प्रिमियर_लिग शीर्ष_स्थान एभर्टन