खेल

उल्भरह्याम्पटन पाँचौं चरणमा

लन्डन – एफए कपअन्तर्गत चौथो चरणको रिप्ले खेलमा उल्भरह्याम्टन वान्डरर्सले पछि परेको अवस्थालाई उल्टाउँदै बुधबार स्रोएर्सबरीविरुद्ध ३–२ को जित निकाल्दा पाँचाैं चरणमा प्रवेश गरेको छ।

बुधबारै सम्पन्न अर्को खेलमा चौथो डिभिजनको क्लब न्युपोर्टले दोस्रो डिभिजनको क्लब मिडल्सबर्गलाई २–० ले हराउँदै म्यानचेस्टर सिटीसँगको भेट पक्का गरेको छ। यसअघि सिटीले जनवरीमा सम्पन्न खेलमा इङ्लिस प्रिमियर लिगकै क्लब बर्नलीलाई ५–० को फराकिलो अन्तरले पराजित गर्दै पाँचांै चरणमा स्थान बनाएको थियो।

खेलमा उल्भरह्याम्पटनले २–१ ले पछि परेको अवस्थालाई उल्टाउँदै जित निकाल्न सफल भएको हो। उल्भरह्याम्पटनले दोस्रो मिनेटमा सुरुआती अग्रता लिएको थियो। म्याट डुहेर्टीले गोल गर्दै उल्भरह्याम्टनलाई अग्रता दिलाएका थिए। ११औं मिनेटमा जेम्स बोल्टनले गोल गर्दै स्रोएर्सबरीलाई बराबरीमा ल्याएका थिए। निकै प्रतिस्पर्धात्मक खेलको ३९औं मिनेटमा स्रोएर्सबरीका जोस लाउरेन्टले गोल गर्दै घरेलु टोली उल्भरह्याम्टविरुद्ध अग्रता लिएका थिए। तर पहिलो हाफको इन्जुरी समयमा म्याटले व्यक्तिगत दोस्रो गोल गर्दै पाहुना टोलीको अग्रता बराबरीमा ल्याए।

पहिलो हाफ २–२ गोलको बराबरी खेलेको उल्भरह्याम्टनले दोस्रो हाफमा आक्रामक खेल पस्कियो। ६२औं मिनेटमा इभान काभालिइएरो गोल गर्दै घरेलु टोलीलाई पुनः अग्रता दिलाए। दोस्रो हाफमा हाबी बनेको उल्भरह्याम्पटनले बाँकी समयमा केही सुन्दर मौका सिर्जना गरे थप गोल गर्न नसक्दा ६२औं मिनेटको गोल गर्न पाँचौं चरण प्रवेशका लागि पर्याप्त बन्यो।

यस्तै बुधबारै सम्पन्न अर्को खेलमा मिडल्सबर्गविरुद्ध जित निकाल्न न्युपोर्टकका रवि विलमटले ४७औं र पादरेक आमोन्डले ६७औं मिनेटमा गरेको गोल अघिल्लो चरण प्रवेशका लागि पर्याप्त बनेको हो। पहिलो हाफ गोलरहित बराबरी खेलेको न्युपोर्टले दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गर्दै अधिकांश समय बलमा पकड जमाउन सफल भएको थियो।

‘अर्को चरणमा हामीले गत सिजनको प्रिमियर लिग विजेता म्यानचेस्टर सिटी प्रतिद्वन्द्वी पाएका छौं। सिटीविरुद्ध पनि हामीले राम्रो खेल्ने विश्वास लिएका छौं,’ न्युपोर्टका रक्षक मिकी डेमिट्रिओ भने, ‘ठूलो टोलीको चुनौती फेरि हामीसामु छ। क्लबले निकै संघर्ष गर्नुपर्नेछ।’

बुधबारै भएको अर्को खेलमा ब्रेन्टफोर्ड र क्विन्स पार्क रेन्जर्स (क्युपिआर) ले पनि एफए कपको पाँचौं चरणमा स्थान बनाएका छन्। चौथो चरणको अन्तिम खेलमा ब्रेन्टफोर्डले बार्नेटलाई ३–१  र क्युपिआरले पोर्ट्समाउथमाथि २–० को जित निकाल्दा पाँचाैं चरणको यात्रा सम्भव बनेको हो।

प्रकाशित: २४ माघ २०७५ ००:०९ बिहीबार

एफए_कप रिप्ले_खेल उल्भरह्याम्टन पाँचाैं_चरण स्रोएर्सबरी