खेल

पारा तेक्वान्दोमा नेपाललाई कांस्य

काठमाडौं – पारा खेलाडी विक्रम श्रेष्ठले टर्कीको एन्टाल्यामा आयोजना भएको आठौं विश्व पारा तेक्वान्दो च्याम्पियनसिपमा बुधबार कांस्य पदक जितेका छन्।

पहिलो पटक भएको विधा पी–३२ एकल पुम्सेमा प्रतिस्पर्धा गरेका विक्रम सेमिफाइनलमा रूसका एन्ड्रेई ग्राभोस्कीसँग २०–७ अंकले पराजित हुँदै कांस्यमा सीमित भएका हुन्। पहिलो खेलमा बाई पाएका विक्रमले त्यसपछि भएको भिडन्तमा मोरक्कोका विलाल खट्टावीलाई ६–५ अंकले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेका थिए।

च्याम्पियनसिपको यु–३० स्पर्धामा रूसका एन्ड्रेई ग्राभोस्किट पहिलो, क्रोएसियाका दामाजोव भुसिस दोस्रो, नेपालका विक्रम श्रेष्ठ र इटालीका रिकार्डो जिम्मरम्यान संयुक्त रूपमा तेस्रो भएका थिए। पारा पुम्सेमा नेपालले प्राप्त गरेको यो पहिलो अन्तर्राष्ट्रिय पदक हो। विक्रमले पहिलो सहभागितामै कांस्य पदक जितेका हुन्।

ग्यारोगीतर्फ नेपालकी पलेसा गोवर्द्धन ब्राजिलकी डेबोरा मेनेजेजसँग क्वार्टरफाइनलमा पराजित भइन्। के–४४ क्याटेगोरीको ४९ केजीमुनि प्रतिस्पर्धा गरेकी थिइन्। च्याम्पियनसिपमा ६९ राष्ट्रका ४ सय २५ खेलाडी सहभागी भएको प्रशिक्षक लामाले जानकारी दिए। सन् २०२० मा जापानको टोकियोमा आयोजना हुने ३२औं गृष्मकालीन ओलम्पिकको छनोटका रूपमा वल्र्ड च्याम्पियनसिपलाई हेरिएको छ।

प्रकाशित: २४ माघ २०७५ ००:१९ बिहीबार

विक्रम_श्रेष्ठ विश्व_पारा_तेक्वान्दो_च्याम्पियनसिप कांस्य_पदक टर्की