खेल

अन्तर्राष्ट्रिय महिला नेत्रहिन क्रिकेट : एक खेलअगावै नेपाललाई सिरिज

काठमाडाैं- अन्तर्राष्ट्रिय महिला नेत्रहीन क्रिकेट सिरिजका लागि पाकिस्तान भ्रमणमा रहेको नेपालले एक खेलअगावै सिरिज जित्न सफल भएको छ। घरेलु टोली पाकिस्तानविरुद्धको पाँच खेलको नेत्रहीन टी–२० क्रिकेट सिरिजअन्तर्गत आइतवार भएको चौथो खेलमा पाकिस्तानलाई नौ विकेटले पराजित गर्दै नेपालले सिरिज ३–० ले आफ्नो पक्षमा पारेको हो। 

पाकिस्तानको इस्लामावादमा पाकिस्तानले दिएको १०२ रनको लक्ष्य नेपालले आठ ओभर पाँच बलमा मात्र एक विकेट गुमाएर पूरा ग-यो। नेपालका लागि विमला राईले ४२ र मन केसी चौधरीले नटआउट २५ तथा मुना अर्यालले २२ रनको योगदान गरेका थिए। 

यसअघि टस जितेर पहिलो ब्याटिङ गरेको पाकिस्तानले पूरै २० ओभर खेल्दै सात विकेट गुमाएर १०१ रन जोडेको थियो। नेपालकी विमला राई म्यान अफ दि म्याचर घोषित हुँदै पाकिस्तानी १५ हजार प्राप्त गरिन्। 

सिरिजअन्तर्गत नेपालले पहिलो र तेस्रो खेलमा १० विकेटको जित निकालेको थियो। दोस्रो खेल भने वर्षाको कारण रद्द भएको थियो। अब नेपालले घरेलु टोलीविरुद्ध सोमबार अन्तिम तथा पाँचौँ खेल खेल्ने छ। 

नेपाली टोली पाकिस्तान नेत्रहीन क्रिकेट परिषद्को निमन्त्रणामा पाँच खेलको सिरिज खेल्न यही माघ १२ गते त्यसतर्फ गएको हो।

भगवती भट्टराई बरालको कप्तानीमा रहेको टोलीमा १५ खेलाडी छन्। यस्तै प्रशिक्षकमा रिजन प्रजु छन्। पाकिस्तान जाने नेपाली टोलीमा भगवती भट्टराई बराल (कप्तान) भगवती अमगाईं, मनकेसी चौधरी, सुष्मा तामाङ, आशिका डगौरा, आशा रेग्मी, गीता पौडेल, विनिता पुन, हीता गुरुङ, मुना अर्याल, रीतादेवी थापा, सरिता घिमिरे, विमला राई, आयुष्मा क्षेत्री र भूमा खरेल रहेका छन्। रासस

प्रकाशित: २० माघ २०७५ १२:०९ आइतबार

नेत्रहिन_क्रिकेट नेपाल सिरिज पाकिस्तान