खेल

जापानलाई स्तब्ध पार्दै कतारले जित्यो एसिया कप फुटबलको उपाधि

काठमाडौं – कतारले पहिलो पटक एसिया कप फुटबलको उपाधि जितेको छ। युएईको आबुधावीस्थित शेख जायेद स्पोर्टस सिटी रंगशालामा शुक्रबार बेलुकी सम्पन्न खेलमा चार पटकको विजेता जापानलाई ३–१ ले पराजित गर्दै कतारले उपाधि जितेको हो।

कतारको जितमा अलमोएज अली, अब्देल अजिज हातिम र अक्रम हसन अफिफले गोल गरे। पराजित जापानका लागि ताकुमी मिनामोनोले एक गोल फर्काए।

कतारले खेलको १२ औं स्ट्राइकर अलीको गोलमा अग्रता लिएको थियो। उनको यो प्रतियोगितामा ९ औं गोल हो। योसँगै सुडानमा जन्मिएका अलीले एसिया कप फुटबलको इतिहासमा एकै संस्करणमा सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान आफ्नो नाममा लेखाएका छन्। यसअघि यो कीर्तिमान ८ गोल गरेका इरानका अली दाईको नाममा रहेको थियो। २७ औं मिनेटमा हातिमले कतारको अग्रता दोब्बर पारे।

पहिलो हाफमा २–० ले पछि परेको जापानका लागि ६९ औं मिनेटमा मिनामोनोले गोल गर्दै अग्रता छोट्याएपनि ८३औँ मिनेटमा पेनाल्टीमार्फत हसन अफिफले गोल गरेपछि एसियाली पावर हाउस जापानलाई ३–१ ले स्तब्ध पार्दै उपाधिमाथि कब्जा जमायो।

जापान पहिलो पटक एसिया कप फुटबलको फाइनलमा पराजित भएको हो। सन् २०२२ को विश्वकप फुटबलको आयोजक राष्ट्र कतार पहिलो पटक एसिया कपको फाइनलमा पुगेको थियो। युएईलाई ४–० ले पराजित गर्दै कतार फाइनलमा प्रवेश गरेको थियो।

प्रकाशित: १९ माघ २०७५ ०५:४० शनिबार

कतार एसिया_कप_फुटबल उपाधि युएई