खेल

युएईलाई पराजित गरेपछि कतारी समर्थक सडकमा

युएईविरुद्ध गोल गरेपछि कतारका हमिद इस्मेइल (दायाँ) । तस्बिर : एएफपी

दोहा – खेलकुदका साथै राजनीतिको चिर प्रतिद्वन्द्वी संयुक्त अरब इमिरेट्स (युएई) लाई निराश पार्दै कतारले पहिलो पटक एसिया कपको फाइनलमा स्थान सुरक्षित गरेसँगै दोहामा हजारौं समर्थक खुसीयाली मनाउन सडकमा उत्रिएका छन्।

कतारले युएईलाई ४–० ले निराश पार्दै जापानविरुद्ध एसिया कपको फाइनल भेट पक्का गरेको थियो। यस जितसँगै कतारी सर्वसाधारण राष्ट्रिय झन्डाका साथ सडकमा उत्रँदा त्यहाँ घण्टाैंसम्म जाम परेको थियो।

‘म धेरै खुसी छु, किनभने अब हामी फाइनल खेल्नेछौं,’ २४ वर्षे एक समर्थकले भने, ‘तर हाम्रा लागि यो खेल फाइनलभन्दा उत्कृष्ट रह्यो, किनभने युएईले हाम्राविरुद्ध लगाएको नराम्रो आरोपको योभन्दा कडा जबाफ हुन सक्दैन। उनीहरूले हामीलाई आतंकवादको समेत आरोप लगाए। त्यसैले आज खेलको माध्यमबाट उनीहरूसँग बदला लिन सफल भयौं। त्यसैले आज सबै कतारी खुसी छन्।’

१९ महिनाअघि युएईलगायतका राष्ट्रले कतारमाथि आतंकवादलाई प्रोत्साहन गरेको भन्दै कूटनीतिक प्रतिबन्ध लगाएका थिए। युएईविरुद्धको जितसँगै २०२२ को विश्वकप आयोजक कतारका प्रधानमन्त्री र विदेशमन्त्रीले ट्विटरमार्फत टोलीलाई बधाई दिएका छन्।

२२औं मिनेटमा बाउलेम खौखीले गोल गर्दै कतारलाई अग्रता दिलाएका थिए। ३७औं मिनेटमा आल्मोइज अलीले बललाई पोस्ट दिशा दिँदै कतारको अग्रता दोब्बर पारेका थिए। खेल सकिन १० मिनेट बाँकी हुँदा हसन अली हाइडोसले गरेको गोलमा कतारले अग्रता ३–० मा पुर्याएको थियो। अतिरिक्त समयको दोस्रो मिनेटमा इस्माइल अहमेदले रातो कार्डको दर्शन गर्दै मैदानबाट बाहिरिएपछि युएईले १० खेलाडीमा सीमित हुँदै खेलको अन्त्य गरेको थियो। त्यसको दुई मिनेटपछि हामिद इस्माइलले गोल गर्दै कतारको सहज जित पक्का गरेका थिए।

यसअघि जापानले सोमबार इरानलाई ३–० ले निराश पार्दै फाइनलमा स्थान सुरक्षित गरेको थियो। फाइनल शुक्रबार हुनेछ। ‘हाम्रा लागि यो खेल फाइनलभन्दा उत्कृष्ट रह्यो, किनभने युएईले हाम्राविरुद्ध लगाएको नराम्रो आरोपको योभन्दा कडा जबाफ हुन सक्दैन।’

प्रकाशित: १७ माघ २०७५ ०४:२६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App