खेल

रङ्गशाला निर्माण हुने खुशियालीमा दीप प्रज्वलन

भरतपुर - चितवनमा अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण हुने खुशियालीमा दीप प्रज्वलन गरिएको छ। बुधबार साँझ भरतपुरको चौबिसकोठीमा क्रिकेट समर्थक समाज र स्थानीय खेलप्रेमी युवाले दीप प्रज्वलन गरेका हुन्। गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण हुनु खुशीको कुरा भन्दै उनीहरुले रङ्गशाला निर्माणमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।

क्रिकेट समर्थक समाजका सदस्य सञ्जय धरेलले भरतपुरमा रङ्गशाला निर्माणपछि चितवनलाई अन्तर्राष्ट्रियरुपमा चिनाउन र खेल क्षेत्रको विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे। विद्यार्थी नेता अशोक देवकोटाले भरतपुर महानगरको पहलमा निर्माण हुन लागेको रङ्गशाला समयमै निर्माण सम्पन्न गर्न युवा विद्यार्थीले सहयोग गर्ने प्रतिबद्धता जनाए।

सो अवसरमा दिपावलीसँगै केक काटेर खुशियाली साटासाट गरिएको थियो। धुर्मुस सुन्तली फाउन्डेसन र भरतपुर महानगरबीच बुधबार रङ्गशाला निर्माणका लागि जग्गाप्राप्तिसम्बन्धी काठमाडौँमा सम्झौता भएको हो।    )रासस)

प्रकाशित: १६ माघ २०७५ १५:३१ बुधबार

क्रिकेट_रङ्गशाला दीप_प्रज्वलन