खेल

मदन भण्डारी गोल्डकप : थ्री स्टारलाई रोक्दै आर्मी सेमिफाइनलमा

थ्री स्टारका खेलाडीलाई छक्याएर बल अघि बढाउँदै आर्मीका खेलाडी (हरियो जर्सी)। तस्बिर : नागरिक

इटहरी – थ्री स्टारलाई टाइब्रेकरमा ३–१ ले पराजित गर्दै विभागीय टोली त्रिभुवन आर्मी क्लब इटहरीमा जारी दोस्रो मदन भण्डारी स्मृति अन्तर्राष्ट्रिय इटहरी गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। डिफेन्डिङ च्याम्पियन थ्री स्टार भने पहिलो खेलबाटै बाहिरिएको छ। आर्मीले गत संस्करणको सेमिफाइनलमा थ्री स्टारसँग बेहोरेको हारको बदलासमेत लिएको छ।

निर्धारित समयमा दुवै टोलीबाट १–१ को बराबरी भएपछि खेल टाइब्रेकरतर्फ धकेलिएको थियो। टाइब्रेकरमा आर्मीका सन्तोष तामाङ, भरत खवास र विवेक बस्नेतले गोल गरे भने दीप लामाको प्रहार गोलरक्षकले बताए। आर्मीका अर्का खेलाडी पदम लामाले प्रहार गरेको बल आउट हुन पुग्यो। थ्री स्टारका विक्रम लामाले प्रहार गरेको बल मात्र गोलमा परिणत हुन पुग्यो। थ्री स्टारका बुद्ध चेमजोङ, रूपेश केसी र रञ्जित धिमालले प्रहार गरेको बल आर्मीका गोलरक्षक विकेश कुथुले आकर्षक ढंगले बचाउ गरे। विकेश नै खेलको म्यान अफ दी म्याच भए। उनले १० हजार नगद पाए।

यसअघि निर्धारित समयको ५८आैं मिनेटमा कप्तान भरत खवासको गोलबाट आर्मीले अग्रता लिएको थियो। त्यसको १३ मिनेटपछि थ्री स्टारका अनन्त तामाङले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए। आर्मी प्रशिक्षक नवीन न्यौपानेले एकपछि अर्को प्रतियोगिताले गर्दा खेलाडीले उत्कृष्ट खेल प्रदर्शन गर्न नसके पनि जित निकाल्न सफल भएको बताए। ‘दुवै टोलीको खेलमा जुन गति हुनुपर्ने हो, त्यो देखिएन,’ उनले भने, ‘एकातिर ग्राउन्डको अनुभव थिएन भने अर्कातिर खेलाडी थकित भएकाले समस्या हुन पुग्यो।’

थ्री स्टारका प्रशिक्षक उज्ज्वल मानन्धरले पाएका अवसरलाई सदुपयोग गर्न नसक्नु नै हारको मुख्य कारण भएको बताए। ‘राम्रो–राम्रो बल पाएका थियौं, तिनलाई गोलमा परिणत गर्न सकेनौं,’ उनले भने। गोल्डकप प्रतियोगिताअन्तर्गत मंगलबारको अन्तिम क्वार्टरफाइनल खेल सिएफसी भुटान र विभागीय टोली नेपाल प्रहरीबीच हुनेछ।

यस प्रतियोगिताको विजेतालाई १६ लाख र उपविजेतालाई आठ लाख रुपियाँ  पुरस्कार प्रदान गरिनेछ।  सर्वोत्कृष्ट खेलाडीलाई ४२ इन्चको टिभीसहित नगद ३० हजार प्रदान गरिनेछ। यस्तै, प्रत्येक खेलको म्यान अफ दी म्याचलाई दस हजार र विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई जनही २० हजार रुपैयाँ प्रदान गरिनेछ।

प्रकाशित: १५ माघ २०७५ ०४:११ मंगलबार

त्रिभुवन_आर्मी_क्लब मदन_भण्डारी_स्मृति_अन्तर्राष्ट्रिय_इटहरी_गोल्डकप टाइब्रेकर थ्री_स्टार