खेल

युएई विरुद्धको एकदिवसीय सिरिज जित्न नेपाललाई २ सय ५५ रनकाे लक्ष्य

काठमाडाैं - नेपालले युएई विरुद्धको एकदिवसीय सिरिज जित्न २ सय ५५ रनको लक्ष्य पाएको छ। आइसिसी एकेडेमी दुबईमा जारी सिरिज अन्तर्गतको तेस्रो तथा अन्तिम एकदिवसीय खेलमा टस हारेर पहिले व्याटिङ गरेको घरेलु टोली युएईले  निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै २ सय ५४ रन जोडेपछि नेपालले सिरिज जित्न २ सय ५५ रनको लक्ष्य पाएको हो।

खराव सुरुवात गरेको युएईका मध्यक्रमका व्याट्सम्यानले सम्हालिएको प्रदर्शन गर्दा युएई सम्मानजनक योगफल तर्फ उन्मुख भएको थियो। ओपनिङ व्याट्सम्यान अस्फाक अहमद र चिराग सुरीलाई शुन्य रनमा गुमाएको युएईले पाँचौ विकेटकालागि सिपी रिजवान र सैमान अनवरबीच एक सय रनको पार्टनरसिप भएपछि सम्मानजनक योगफल तयार पारेको थियो। युएईका अनवरले सर्वाधिक ८७ रन बनाए। यस्तै रिजवानले ४५ रन बनाउँदा मोहम्मद बुटा ५९ रनमा अविजित रहे। नेपालका पारस खड्का र करण केसीले समान २/२ विकेट लिए।

तीन एकदिवसीय खेलको सिरिज एक एकको बराबरीमा रहेको छ। आजको खेलको विजेताले सिरिज आफ्नो पक्षमा पार्नेछ। यसअघि भएको पहिलो खेलमा ३ विकेटको पराजय व्यहोरेको नेपालले पछिल्लो खेलमा युएईलाई १ सय ४५ रनले पराजित गरेको थियो। 

 

प्रकाशित: १४ माघ २०७५ ०९:१६ सोमबार

एकदिवसीय_सिरिज नेपाल युएई