खेल

महिला फुटबल टोलीको घोषणा

काठमाडौं – अखिल नेपाल फुटबल संघले भारतमा माघ २४ गतेबाट हुने प्रतियोगिताका लागि शुक्रबार २३ सदस्यीय नेपाली महिला फुटबल टोलीको घोषणा गरेको छ।

विराटनगरको सहिद रंगशालामा फागुन २८ गतेबाट हुने पाँचाैं साफ च्याम्पियनसिपको तयारीमा रहेको नेपाली महिला राष्ट्रिय टोलीले भारतमा चार राष्ट्र सम्मिलित अभ्यास खेल खेल्नेछ। नेपाली टोलीको कप्तानी निरु थापाले गर्नेछिन् भने टोली प्रशिक्षकमा हरि खड्का रहेका छन्।

भारतले आयोजना गर्न लागेको उक्त प्रतियोगितामा नेपालले सहभागिता जनाउने एन्फाले यसअघि मंगलबार नै जानकारी दिएको थियो। साफ च्याम्पियनसिप र ओलम्पिक छनोटअन्तर्गत दोस्रो चरणको तयारीस्वरूप भारतले आयोजना गर्न लागेको प्रतियोगितामा नेपाल सहभागी हुन लागेको हो। साफ र ओलम्पिक छनोटको लक्ष्य राखेर नेपाली राष्ट्रिय महिला टोलीले विगत दुई महिनाबाट अभ्यास गरिरहेको छ।

विराटनगरको सहिद रंगशालामा फागुन २८ गतेबाट पाँचौं साफ च्याम्पियनसिप सुरु हुँदै छ। उपाधिविहीन नेपाल पहिलो पटक घरेलु मैदानमा साफ उपाधि राख्ने लक्ष्यसहित निकै मिहिनेतका साथ अभ्यास गरिरहेको छ। समूह ‘ए’ मा रहेको नेपालले पाकिस्तान, बंगलादेश र भुटान छन्। यसअघि यही संस्करण श्रीलंकामा आयोजना हुने भनिए पनि आयोजकले अन्तिम समयमा आयोजना नगर्ने जनाएको थियो। पहिलो पटक घरेलु मैदानमा हुन लागेको प्रतियोगिता जित्ने नेपालको उद्देश्यमा रहेको छ।

नेपाली टोली
गोलकिपरः अन्जना रानामगर, उषा नाथ, एञ्जिला तुम्बापो सुब्बा
रक्षकः हिराकुमारी भुजेल, गीता राना, पुनम मगर, अमृता जैसी, कविता धिमाल, सुनिता चौधरी, पुजा राना, मनमाया लिम्बु
मिडफिल्डरः विमला चौधरी, अनिता बस्नेत, दीपा राई, मञ्जली कुमारी योञ्जन, शर्मिला थापा, सरु लिम्बु, रेनुका नगरकोटे, अनिता केसी
स्ट्राइकरः अनु लामा, रेखा पौडेल, निरु थापा (कप्तान),साबित्रा भण्डारी

प्रकाशित: १२ माघ २०७५ ०५:१३ शनिबार

खिल_नेपाल_फुटबल_संघ भारत नेपाली_महिला_फुटबल_टोली