खेल

जिरोनामाथि रियलको सहज जित, रामोसको २ गोल

काठमाडौं – रियल मड्रिडले स्पेनिस कोपा डेल रे फुटबल अन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा जिरोनालाई ४–२ गोलले पराजित गरेको छ। घरेलु मैदानमा शुक्रबार बिहान सम्पन्न खेलमा जित हात पारेसँगै रियलले सेमिफाइनल यात्रा बलियो बनाएको छ।

रियल १–० ले पछि परेको स्थितिबाट खेलमा फर्किएको थियो। ७ औं मिनेटमा लोजानोको गोलमा जिरोनाले अग्रता लिएको थियो। तर, १८ औं मिनेटमा रियलका लुकास भाजक्वेजले बराबरी गोल फर्काए। ४२ औं मिनेटमा कप्तान सर्जियो रामोसले पेनाल्टीमा गोल गरेपछि रियलले पहिलो हाफमा २–१ को अग्रता बनायो।

६६ औं मिनेटमा जिरोनाका एलेक्स ग्रानेलले पेनाल्टीमा गोल गर्दै खेललाई २–२ को अवस्थामा ल्याएका थिए। तर, ७७ औं मिनेटमा पुनः रामोस र ८० औं मिनेटमा करिम बेन्जेमाले गोल गरेपछि रियल ४–२ को जित हात पार्न सफल भयो।  दोस्रो लेग जिरोनाको मैदानमा हुनेछ।

प्रकाशित: ११ माघ २०७५ ०५:३२ शुक्रबार

रियल_मड्रिड स्पेनिस_कोपा_डेल_रे फुटबल जिरोना सर्जियो_रामोस