खेल

ढोरपाटन डबल लिग : दुवै पुलिसको दोहोरो जित

सेबका खेलाडीको स्पाइक रोक्ने प्रयास गर्दै पश्चिमाञ्चलका खेलाडी । तस्बिर सौजन्य : राखेप

काठमाडौं – विभागीय टोली एपिएफ र नेपाल पुलिस क्लबले १४औं ढोरपाटन डबल लिग भलिबल प्रतियोगितामा बिहीबार दोहोरो जित हात पारेका छन्।

दोहोरो सफलतासँगै साबिकको विजेता एपिएफ १४औं ढोरपाटन महिला डबल लिग भलिबल प्रतियोगिताको शीर्ष स्थानमा उक्लिएको छ। बिहीबार दोहोरो जित निकालेपछि एपिएफले ५ खेलबाट १५ अंक जोड्दै उपाधि दाबेदारी प्रस्तुत गरेको छ। एपिएफले पहिलो खेलमा आयोजक ढोरपाटनमाथि २५–२, २५–४ र २५–५ को सहज जित निकाल्दा दोस्रो खेलमा पनि चितवन टाइग्रेसलाई २५–७,२५–४ र २५–२० को सोझो सेटमा हरायो।

पुलिस पनि दोहोरो जित निकाल्दै लिगको दोस्रो स्थानमा उक्लिएको छ। पहिलो खेलमा थाहा नगरपालिकालाई २५–८,२५–१४ र २५–१८ को सोझो सेटमा हराएको  पुलिसले आर्मीलाई २५–१६, २५–२३ र २६–२४ को सोझो सेटमा स्तब्ध पा¥यो। पुलिसले ४ खेलबाट १२ अंक बनाएको छ।

आर्मीको विजययात्रालाई पुलिसले पूर्णविराम लगाएपछि आर्मी तालिकाको तेस्रो स्थानमा झरेको छ। आर्मीको ५ खेलबाट १२ अंक भएको छ। अर्को खेलमा सेबले पश्मिाञ्चललाई २७–२५,२०–२५,१७–२५,२५–२२ र १५–८ को स्कोरमा हराउँदै पाचौं स्थानमा रहन सफल भएको छ। सेबले ८ अंक जोडेको छ। श्रीगाउँ ९ अंकका साथ चौथो स्थानमा छ। पश्चिमाञ्चलले पहिलो खेलमा पराजय बेहोरे पनि खातामा १ अंक जोड्न सफल भयो।

नयाँ बसपार्कस्थित ढोरपाटन स्पोटर्स क्लबको कोर्टमा शुक्रबार पाँच खेल हुनेछन्। पहिलो खेलमा चितवन टाइग्रेसविरुद्ध थाहा नगरपालिकाले प्रतिस्पर्धा गर्दा अर्को खेलमा चितवन टाइग्रेसविरुद्ध सेव स्कुल आमनेसामने हुनेछ। यस्तै पश्चिमाञ्चलले थाहा नगरपालिकाको सामना गर्दा पुलिसले आयोजक ढोरपाटनविरुद्ध प्रतिस्पर्धा गर्नेछ  भने अर्को खेलमा पश्चिमाञ्चलले चितवन टाइग्रेससँग खेल्नेछ।

प्रकाशित: ११ माघ २०७५ ०४:२८ शुक्रबार

ढोरपाटन_डबल_लिग भलिबल विभागीय_टोली एपिएफ नेपाल_पुलिस_क्लब