सेन्ट पिटर पोर्ट – ब्रिटेनका प्रहरीले अर्जेन्टिनी विमानको खोजी कार्य जारी राख्दा अर्जेन्टिनी सञ्चारमाध्यमले स्ट्राइकर इमिलियानो सालाले विमान बेपत्ता हुन केही मिनेटअघि आफन्तलाई सन्देश पठाएको खुलासा गरेका छन्।
उद्धारकार्यमा खटिएका अधिकारीहरुले सालालाइए जीवित उद्धार गर्ने सम्भावना टाढिएको बताएका छन्।
‘स्वस्थ मानिस पनि पानीमा केही घण्टा मात्र जीवित रहन्छ,’उद्धार टोलीका प्रमुख जोन फिटेजर्याल्डले भने। यसअघि प्रहरीले मंगलबार उत्तरी फ्रान्सको ब्रिटिस ग्योर्नसे टापुमा केही वस्तु देखिएकाले उक्त विमानमा सवार यात्रुको सकुशल उद्धार हुने सम्भावना न्यून रहेको बताएको थियो।। अर्जेन्टिनी सञ्चारमाध्यमले साला सवार विमान राडारबाट २० किमी पर पुगेसँगै सम्पर्कविहीन भएको र त्यसलगत्तै सालाले सन्देश पठाएको उल्लेख गरेको छ।
‘म कार्डिफ जानका लागि एउटा विमानमा छु, जुन तल खस्दै छ,’ २८ वर्षे स्ट्राइकर सालाले वाट्सअपमा पठाएको अडियो सन्देशमा भनिएको छ, ‘यदि एक–डेढ घण्टामा मेरा बारेमा केही खबर नआएमा क्लब सदस्यले मलाई देख्न पाउने छैनन्, किनभने म त्यो समयसम्म जीवित नरहन सक्छु। मलाई निकै डर लागिरहेको छ।’
शनिबार लिग वान क्लब नान्ट्सबाट प्रिमियर लिग क्लब कार्डिफमा अनुबन्धित साला सोमबार सिङ्गल इन्जिन भएको पाइपर पिए–४६ मालिबु विमानमा कार्डिफका लागि उडेका थिए। ‘मैले केही सोच्न सकिरहेको छैन। घण्टौं बितिसक्यो र मैले अकल्पनीय घटनाका बारे सोच्न थालिसकें,’ सालााका बुबा होसासियोले भने, ‘मैले उनीसँग अन्तिम पटक आइतबार कुराकानी गरेको थिएँ। उनी कार्डिफ जानका लागि धेरैै खुसी थिए।’ २०१५ मा नान्ट्समा आबद्ध सालाले जारी सिजन क्लबबाट सबैखाले प्रतियोगिता गरी ८ गोल गरेका थिए।
कार्डिफका कार्यकारी निर्देशक केन चोले साला सवार विमान बेपत्ता भएको खबर अझै पत्याउन नसकेको बताए। ‘हामी सकारात्मक खबरका लागि कामना गरिरहेका छाैं,’ क्लबले जारी गरेको विज्ञप्तिमा भनिएको छ। अर्जेन्टिनाका सर्वकालीन खेलाडी डिएगो म्याराडोनाले सालाको सकुशल उद्धारको कामना गरिहेको बताएका छन्। ‘साला चढेका विमान भूलवश अन्य विमानस्थलमा अवतरण भएको होस् र हामीले उनलाई जीवित भेटाैं,’ म्याराडोनाले भने।
कार्डिफले मंगलबारको अभ्यास सत्र स्थगित गरेको छ भने क्लबका हजारौं समर्थक पुष्पगुच्छाका साथ मैदानबाहिर प्रतीक्षारत छन्। त्यस्तै नान्ट्सका समर्थक पनि क्लबबाहिर भेला हुँदै सालाको सकुशल उद्धारका लागि कामना गरिरहेका छन्। ‘मलाई अझै विश्वास छ, किनभने उनी योद्धा हुन्,’ नान्ट्सका अध्यक्ष भाल्र्डेमार किटाले ट्विट गरेका छन्।
‘म कार्डिफमा आबद्ध हुन पाउँदा खुसी छु,’ सालाले शनिबार क्लबसँगको सम्झौतापछि भनेका थिए, ‘म क्लबका सहकर्मीसँगको भेट र अभ्यास सुरु गर्न उत्साही छु।’
‘म कार्डिफ जानका लागि एउटा विमानमा छु, जुन तल खस्दै छ। यदि एक– डेढ घण्टामा मेरा बारेमा केही खबर नआएमा क्लब सदस्यले मलाई देख्न पाउने छैनन्, किनभने म त्यो समयसम्म जीवित नरहन सक्छु। मलाई निकै डर लागिरहेको छ।’
प्रकाशित: १० माघ २०७५ ०५:३८ बिहीबार