खेल

प्लिसकोभासँग सेरेना स्तब्ध

कारोलिना प्लिसकोभा

मेलबर्न – कीर्तिमानी उपाधिको दौडमा रहेकी अमेरिकी स्टार सेरेना विलियम्सलाई स्तब्ध बनाउँदै चेक रिपब्लिककी कारोलिना प्लिसकोभा अस्ट्रेलियन ओपनको सेमिफाइनलमा पुगेकी छन्।

मेलबर्न पार्कमा बुधबार भएको प्रतिस्पर्धात्मक खेलमा प्लिसकोभाले २३औं ग्रान्डस्लाम च्याम्पियन सेरेनालाई ६–४, ४–६ र ७–५ ले हराउँदै सेमिफाइनलमा स्थान बनाएकी हुन्। यता, हारसँगै अस्ट्रेलियाकी मार्गरेट कोर्टको सर्वाधिक २४ ग्रान्डस्लामलाई बराबरी गर्ने सेरेनाको लक्ष्य यसपटक पनि पूरा हुन सकेन। सातौं वरीयताकी प्लिसकोभाले बिहीबार अन्तिम चारमा जापानकी नाओमी ओसाकाविरुद्ध चुनाती प्रस्तुत गर्नेछिन्।

अर्को सेमिफाइनलमा चेकरिपब्लिकी पेत्रा केभितोभा र अमेरिकाकी डेनिइली कोलिन्सबीच बिहीबार नै प्रतिस्पर्धा हुनेछ। प्लिसकोभाले सेरेनामाथि जित निकाल्न २ घन्टा १० मिनेट समय लगाइन्। जितपछि प्लिसकोभाले विजेता हुँदै चेन्जिङ रुममा फर्किन पाउँदा एकदम खुसी लागेको बताइन्।

‘मैले खासै राम्रो खेल्न सकेको थिइन्,’ प्लिसकोभाले भनिन्,‘ तर पनि संघर्ष गरिरहे। साथै सेरेनाको गल्तिमा अवसर बनाउँदै जित निकाले।’ ३७ वर्षीया सेरेनाले क्वार्टरफाइनलसम्म स्थान बनाउन उत्कृष्ट प्रदर्शन गरे पनि सेमिफाइनलमा भने स्थान बनाउन सकिनन्। सेरेनाले चौथो चरणमा विश्व नम्बर एक रोमानियाकी सिमोना हालेपलाई समेत स्तब्ध बनाएकी थिइन्।

यद्यपि, प्लिसकोभाविरुद्ध भने त्यो लयलाई दोहोर्याउन सकिनन्। त्यससँगै सन् २०१७ पछि पहिलो पटक ग्रान्डस्लाम जित्दै कीर्तिमान बराबरी गर्ने सेरेनाको चाहाना पूरा हुन सकेन। सन् २०१६ को युएस ओपनको फाइनलमा पुगेकी प्लिसकोभाले हालसम्म ग्रान्डस्लामको उपाधि जित्न सकेकी छैनन्।

प्लिसकोभाले सन् २०१७ मा पनि फ्रेन्च ओपनको सेमिफाइनलभन्दा माथिको यात्रा तय गर्न सकेकी थिइनन्। प्लिसकोभाले सेरेनाविरुद्ध जित निकाल्दा निकै आत्मविश्वास बढेको बताएकी छिन्। ‘ओसाका निकै बलियो प्रतिद्वन्द्वी हुन्,’ प्लिसकोभाले भनिन्,‘ तर सेरेना जति भने होइनन्।’

त्यस्तै छ पटकको ग्रान्डस्लाम च्याम्पियन सर्बियन स्टार नोभाक जोकोभिच पनि अस्ट्रेलियन ओपनको सेमिफाइनलमा पुगेकी छन्। मेलबर्न पार्कमा भएको क्वार्टरफाइनलमा जापानका केई निसिकोरी रिटायर्ड भएपछि जोकोभिचले सहज रूपमा सेमिफाइनलको स्थान तय गरेका हुन्।

विश्व नम्बर आठ निसिकोरीले खेलमा ६–१ र ४–१ ले पछाडि रहेको अवस्थामा चोट बोकेपछि मैदान छाडेका थिए। जोकोभिचले यसअघिका १५औं भेटमा पनि निसिकोरीविरुद्धको खेल गुमाएका थिएनन्। ३१ वर्षे जोकोभिचले शुक्रबारको सेमिफाइनलमा लुकास पौइलीविरुद्ध चुनौती प्रस्तुत गर्नेछन्।

बिहीबार हुने पहिलो सेमिफाइनलमा स्पेनिस स्टार रफाइल नाडलले ग्रीसका २० वर्षे स्टेफानोसविरुद्ध प्रतिस्पर्धा गर्नेछन्। ‘निसिकोरीविरुद्धको खेल निकै रमाइलो हुने गर्दछ,’ जोकोभिचले भने,‘ मेरो खेल करियरमा कयौं पटक उनीसँग खेलेको छु। उनी निकै राम्रो खेलाडीसमेत हुन्। उनी छिट्टै ठिक हुने छन्।’

प्रकाशित: १० माघ २०७५ ०५:१९ बिहीबार

सेरेना_विलियम्स अस्ट्रेलियन_ओपन कारोलिना_प्लिसकोभा सेमिफाइनल