खेल

कोहलीलाई एकै पटक तीन उपाधि

न्यु दिल्ली – भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीले मंगलबार अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)को वर्ष खेलाडीको उपाधिसहित एकै पटक तीन उपाधि आफ्नो बनाएका छन्।

एक वर्षमा तीन उपाधि जित्ने पहिलो क्रिकेटर बनेका ३० वर्षे कोहलीले टेस्ट र एकदिवसीय दुवैमा ‘आइसिसी क्रिकेटर अफ दी इयर’ को  उपाधि आफ्नो बनाएका हुन्। अस्ट्रेलिया भ्रमणमा टेस्ट र एकदिवसीय क्रिकेट शृंखला आफ्नो बनाउँदै इतिहास रचेको केही दिनमै कोहलीले व्यक्तिगतर्फ पनि कीर्तिमान रचेका छन्।

आइसिसीले पूर्वक्रिकेटर र पत्रकारको भोटका आधारमा वार्षिक रूपमा क्रिकेटरलाई उपाधि प्रदान गर्दै आइरहेको छ। कोहली आइसिसीको टेस्ट र एकदिवसीय टोलीमा पनि दोस्रो पटक कप्तान चयन भएका छन्।  

सन् २००८ मा मलेसियामा भएको यु–१९ विश्वकप क्रिकेटको उपाधि भारतलाई चुमाएपछि चर्चामा आएका कोहली टेस्ट र एकदिवसीयमा शीर्ष वरीयताका क्रिकेटर बनिसकेका छन्। कोहलीले गत वर्ष टेस्टमा पाँच शतकसहित १३२२ रन र एकदिवसीयमा ६ शतकसहित १२०२ रन जोडेका थिए।

अस्ट्रेलियाका ओपनर एरोन फिन्च भने ट्वान्टी–२० तर्फ ‘क्रिकेटर अफ दी इयर’ घोषित भए। फिन्च पनि दोस्रो पटक ट्वान्टी–२० क्रिकेटर चयन भएका हुन्। भारतीय क्रिकेटर ऋषभ पन्त ‘इमर्जिङ प्लेयर’ र स्कटल्यान्डका ब्याट्सम्यान म्याकलम म्याकलियोड एसोसिएटतर्फ  ‘क्रिकेटर अफ दी इयर’ चयन भए। एसोसियटमा नेपालका युवा क्रिकेटर सन्दीप लामिछानेको चर्चा भए पनि स्कटल्यान्डका म्याकलम म्याकलियोडले सफलता प्राप्त गरे।

प्रकाशित: ९ माघ २०७५ ०४:४४ बुधबार

विराट_कोहली आइसिसी वर्ष_खेलाडी उपाधि