खेल

एक दिवसीय र टी–ट्वान्टी सिरिज खेल्न नेपाली क्रिकेट टोली युएई प्रस्थान

तस्बिर : दिनेश लुइटेल

काठमाडौं – संयुक्त अरब इमिरेट्स (युएई)मा हुने एक दिवसीय र टी–ट्वान्टी सिरिज खेल्न नेपाली राष्ट्रिय क्रिकेट टोली युएई प्रस्थान गरेको छ। नेपाली टोली अपरान्ह्र ४ः२० बजे फ्लाई दुबई विमानबाट युएई प्रस्थान गरेको हो। प्रतियोगिता यही माघ ११ देखि २० गतेसम्म आयोजना हुँदैछ। नेपालले युएईसँग ३ एक दिवसीय र ३ टी–ट्वान्टी सिरिज खेल्नेछन्।

सहभागी खेलाडीमा पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल (उपकप्तान), सन्दीप लामिछाने, वसन्त रेग्मी, दीपेन्द्रसिंह ऐरी, करण केसी, ललितनारायण राजवंशी, आरिफ शेख, रोहितकुमार पौडेल, प्रदीप ऐरी, सोमपाल कामी र विनोद भण्डारी छन्। त्यस्तै भीम सार्की, अविनाश बोहरा, पवन सर्राफ र सन्दीप जोरा छन्। भीम अविनाश, पवन र सन्दिपले सिनियर राष्ट्रिय टोलीमा पहिलो पटक स्थान बनाएका हुन। वैकल्पिकतर्फ भने ललितसिंह भण्डारी, विक्रम सोब र सुशन भारी छन्।

युएई प्रस्थान गर्नुअघि कप्तान पारस खड्काले एकदिवसीय र टी–ट्वान्टी सिरिजका खेल्न टोली उत्साहित रहेको बताए। पारसले भने, “खेलाडीमा जोश जाँगर देखिएकाले वान डे सिरिज जित्न कोशिस गर्नेछौ।’ त्यस्तै, प्रशिक्षक जगत टमाटाले युएईसँग नेपाली टोलीले राम्रो खेल्ने बताए। उनले भने, “टोलीमा ४ नयाँ युवा खेलाडी आएका छन्। त्यसले टोलीको मनोवल अझ वृद्धि गरेकोक छ।” युएईसँग राम्रो प्रदर्शन गर्दै र्याङकिङमा सुधार गर्ने टमाटाले बताए।

नेपालले युएईसँग पहिले एक दिवसीय सिरिज खेलेपछि मात्र टी–ट्वान्टी सिरिज खेल्नेछ। नेपालले यही माघ ११, १२ र १४ गते एक दिवसीय खेल खेल्नेछ। त्यसपछि माघ १७, १८ र २० गते टी–ट्वान्टी सिरिज खेल्नेछ। एक दिवसीय मान्यता पाएपछि युएईविरुद्धको शृंखला नेपालका लागि दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय शृखंला हुनेछ।

विश्व क्रिकेट परिषद् (आइसिसि) बाट एकदिवसीय मान्यता पाएपछि नेपालले नेदरल्याण्ड्ससँग पहिलो एकदिवसीय शृंखला खेलेको थियो। दुई खेलको शृंखला एक–एक जितको बराबरीमा सकिएको थियो। नेपालले गत वर्ष जिम्बाबेमा भएको विश्वकप छनोटबाट एकदिवसीय मान्यता पाएको थियो। युएईले पनि विश्वकप छनोटबाट एकदिवसीय मान्यता पाएको थियो। आइसिसिबाट एकदिवसीय मान्यता पाउने नेपाल कान्छो टोली हो।

यसअघि मंगलबार बिहान प्रतियोगितामा सहभागी टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले सफलताको शुभकामना दिँदै बिदाइ दिए।

प्रकाशित: ८ माघ २०७५ १०:३६ मंगलबार

नेपाली_राष्ट्रिय_क्रिकेट_टोली एक_दिवसीय टी–ट्वान्टी_सिरिज युएई