खेल

आर्सनलद्वारा चेल्सी पराजित, उल्भर ह्याम्पटनसँग लेस्टर स्तब्ध

काठमाडौं –  इङ्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले चेल्सीलाई २–० ले पराजित गरेको छ। शनिबार राति घरेलु मैदानमा सम्पन्न लण्डन डर्बीमा आर्सनलको जितमा एलेकजेन्टर लाकाजेट्टी र लाउरेन्ट कोस्सिल्नीले गोल गरे।

आर्सनलले दुवै गोल खेलको पहिलो हाफमा गरेको हो। जितसँगै २३ खेलबाट ४४ अंक जोडेको आर्सनल प्रिमियर लिगको पाँचौं स्थानमा छ। पराजित चेल्सी ४७ अंक सहित चौंथो स्थानमा छ।

त्यस्तै डिएगो जाटाले ह्याट्रिक गरेपछि उल्भर ह्याम्पटनले लेस्टर सिटीमाथि ४–३ को जित हात पारेको छ। उल्भर ह्याम्पटनका लागि थप एक गोल रियान बेनेटले गरे। लेस्टरका लागि डिमेरेज ग्रे, वेस मोर्गनाले एक–एक गोल गर्दा उल्भरका कोनर कोडीले एक आत्मघाति गोल उपहार दिएका थिए।

जितसँगै २३ खेलबाट ३२ अंक जोडेको उल्भर तालिकाको आठौं स्थानमा पुगेको छ भने पराजित लेस्टर ३१ अंक सहित नवौं औं स्थानमा छ। राति नै सम्पन्न अन्य खेलमा बर्नमाउथले वेष्टह्यामलाई २–०, न्युक्यासले कार्डीफलाई ३–० र साउथह्याम्टनले एभर्टनलाई २–१ ले पराजित गरेको छ। वार्टफोर्ड र बर्नलेले भने गोलरहित बराबरी खेलेका छन्।

प्रकाशित: ६ माघ २०७५ ०६:२८ आइतबार

प्रिमियर_लिग_फुटबल आर्सनल चेल्सी उल्भर_ह्याम्पटन लेस्टर