खेल

टुबोर्ग विशाल मेमोरियल गोल्डकप फुटबलको उपाधी आर्मीलाई

वीरगन्ज – बिरगन्जमा आयोजित दोश्रो टुबोर्ग विशाल मेमोरियल गोल्डकप फुटबलको उपाधी त्रिभुवन आर्मी क्लबले जितेको छ । आर्मी पहिला संकरणको विजेता समेत हो । नारायणी रंगशालामा शनिवार भएको फाइनल खेलमा हिमालयन शेर्पा क्लबलाइ सडन डेथमा २–१ ले पराजित गर्दै आर्मी क्लब उपाधी कब्जा गर्न सफल भएको हो। 

निर्धारित ९० मिनेटको रोमाञ्चक खेलमा दुवै टिमले एक एक गोल गरेपछि खेल ट्राइबेकरमा धकेलिएको थियो । तर ट्राइबेकरमा दुबैतर्फ चार चार गोलको बराबरी भएपछि खेलको अन्तिम निर्णय सडन डेथबाट गरिएको हो । सडन डेथमा हिमालयन शेर्पाका आशीष गुरुङले प्रहार गरेको बल, आर्मीका गोल रक्षक विकेश कुथुले उत्कृष्ट बचाउ गर्दै गोल रोकेपछि आर्मीले हिमालयन शेर्पालाइ सडन डेथमा २–१ ले हराउदै उपाधी उचालेको हो। 

सडन डेथमा आर्मीका लागि टेक बहादुर बुढाथोकी र गोल रक्षक विकेश कुथुले गोल गरे । हिमालयन शेर्पाका लागि एक मात्र गोल बिसन गुरुङगले गरे । यसअघि ट्राइबेकरमा आर्मीका लागि कप्तान भरत खवास, सन्तोष तामाङ, दीप लामा तथा विवेक बस्नेत र हिमालयन शेर्पाका लागि विजय श्रेष्ठ, उरिच सिवे, विश्वास श्रेष्ठ अनि विकास तामाङले गरेका थिए। 

उपाधी विजेता त्रिभुवन आर्मी क्लबले नगद ५ लाख ५५ हजार ५सय ५५ रुपैयाँ र ट्रफी हात पारेको छ । उपविजेता हिमालयन शेर्पाले भने नगद २ लाख ७७ हजार सात सय ७७ रुपयाँ चित्त बुझाउनु परेको छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी हिमालयन शेर्पाका स्ट्राइकर विश्वास श्रेष्ठ घोषित भए। उनलाइ  १ सय ५५ सिसिको सुजुकी जिक्सर मोटरसाइकल प्रदान गरिएको छ।

प्रतियोगिताको समापन समारोहमा पर्सा क्षेत्र नम्बर १ का सांसद प्रदीप यादव र अन्य अतिथीले विजेता र उपविजेता तथा दुबै टिमका खेलाडीहरुलाई प्रमाणपत्र, ट्रफी र मेडल प्रदान गरेका थिए। गत पुष २८ देखि सुरुभएको दोश्रो टुबोर्ग विशाल मेमोरियल गोल्डकप फुटबल प्रतियोगितामा नेपाल र भारतका गरी कुल आठ टिमको सहभागीता रहेको थियो।

प्रकाशित: ५ माघ २०७५ १२:४६ शनिबार

विशाल_मेमोरियल_गोल्डकप त्रिभुवन_आर्मी सडन_डेथ