खेल

एपिएफ र पुलिस फाइनलमा

तस्बिर : उमेश पुन/नागरिक

पोखरा – दुईवटा प्रदेशले तेस्रो स्थानको लागि प्रतिस्पर्धा गर्दा दुई विभागीय प्रतिद्वन्द्वी दोस्रो सभामुख कप राष्ट्रिय महिला भलिबलको उपाधिको लागि आमनेसामुने हुँदै छन्। उपाधि भिडन्तका लागि एपिएफ र नेपाल पुलिस शनिबार पोखरा रंगशालास्थित भलिबल प्रशिक्षण केन्द्रको कोर्टमा आमनेसामुने हुनेछ। तेस्रो स्थानका लागि प्रदेश–३ ले घरेलु टोली गण्डकी प्रदेशविरुद्ध चुनौति प्रस्तुत गर्नेछ। 

शुक्रबार एपिएफले घरेलु टोली गण्डकी प्रदेशलाई पन्छाउन कडा मिहिनत भने गर्नुपरेन। एपिएफका लागि गण्डकी प्रदेशको चुनौति प्रभावकारी देखिएन्। घरेलु मैदानमा गण्डकी प्रदेशको सबैभन्दा कमजोर प्रदर्शन रहँदा पहिलो सेट २५–८ ले गुमायो। पहिलो सेटमा जम्न नपाउँदै गण्डकीले एकपछि अर्को अंक गुमाउँदा एपिएफले सहजै पहिलो सेट आफ्नो पक्षमा बनायो।

दोस्रो सेटमा एपिएफका खेलाडीको स्पाइकलाई रोक्दै चुनौति दिने प्रयास गरे पनि गण्डकी असफल नै रह्यो। दोस्रो सेट पनि एपिएफले २५–१८ ले आफ्नो पक्षमा पारेको थियो। एपिएफले तेस्रो सेट २५–११ ले लिँदा गण्डकी प्रदेश हारलाई आत्मसात गर्दै कोर्टबाट बाहिरियो। टिकट काटेर कोर्टको प्यारापिट पुगेका दर्शकलाई भने दोस्रो सेमिफाइनल खेलले भने भरपुर मनोरञ्जन दियो।

फाइनलको झल्को दिने गरी भएको प्रतिस्पर्धात्मक सेमिफाइनलमा नेपाल पुलिसले प्रदेश–३ लाई ३–२ का सेटमा स्तब्ध बनाउँदै उपाधि यात्रा तय गरेको थियो।

फाइनलको झल्को दिने गरी भएको प्रतिस्पर्धामा नेपाल पुलिसले प्रदेश–३ लाई ३–२ले स्तब्ध बनाउँदै बाजी मार्यो। प्रदेश–३ पाँचौं सेटमा पुगेर पुलिसँग पराजित हुँदै गण्डकी प्रदेशसँग तेस्रो स्थानको लागि भेट पक्का गर्यो। पहिलो सेटमा प्रदेश–३ पुलिसमाथि २५–१८ ले हाबी भयो। पहिलो सेट लिएर उत्साहि बनेको प्रदेश–३ दोस्रो सेटमा भने खस्कियो। पुलिसले कमब्याक गर्ने क्रममा दोस्रो सेट २५–२० ले रोक्दै सेटमा बराबरी गर्यो। दुई सेटको समाप्तिमा एक–एक सेट भएपछि खेल रोमाञ्चक बन्ने निश्चित देखियो। दर्शकले पनि प्रदेश–३ लाई हौसला प्रदान गर्दै हुटिङबाट उर्जा दिए।
तेस्रो सेट २५–२३ ले आफ्नो बनाउँदै प्रदेश–३ ले पुलिसमाथि दबाव कायमै राख्यो। चौथो सेट भने पुलिसले २७–२५ ले आफ्नो बनाउँदै अतिरिक्त सेटमा खेल पुर्याउन सफल भएको थियो। निर्णायक सेटमा पनि पुलिसले लयलाई कायमै राख्दा प्रदेश–३ को चुनौति १५–७ ले पन्छाउँदै उपाधिनजिक लम्कियो।

राष्ट्रिय खेलकुद परिषद्को आयोजना तथा पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको संयोजनमा गत माघ १ गतेदेखि सञ्चालित भलिबल प्रतियोगिताको फाइनल शनिबार हुनेछ। प्रतियोगितामा विजेताले नगद ३ लाख ५० हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ। दोस्रो हुने टोलीलाई १ लाख ७५ हजार, तेस्रोलाई १ लाख रुपैयाँ र चौथोलाई सान्त्वना स्वरूप २५ हजार रुपैयाँ पाउनेछन्। उत्कृष्ट विधातर्फ स्पाइकर, सेटर, लिबरो, ब्लकर, सर्भर र प्रशिक्षकले नगद ५ हजार रुपैयाँ पाउनेछन्। उत्कृष्ट खेलाडीलाई नगद १० हजार रुपैयाँ प्रदान गरिने प्रतियोगिताका प्रचारप्रसार संयोजक दीपकबहादुर गोदारले बताए।

प्रकाशित: ५ माघ २०७५ ०४:१२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App