खेल

प्रदेश नं. ७ सेमिफाइनल प्रवेश

इटहरी -  प्रदेश नं. ७ सुनसरीको इनरुवामा जारी मनमोहन स्मृति राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। लिगचरणका खेल सकिएसँगै प्रदेश नं. ७ सेमिफाइनलमा प्रवेश गरेको हो। समूहचरणअन्तर्गत बुधबारको अन्तिम खेलमा पराजित भए पनि रनरेटका आधारमा नतिजा आफ्नो पक्षमा पार्दै प्रदेश नं. ७ सेमिफाइनल पुग्ने चौथो टोली बनेको हो।

मनमोहन स्मृति क्रिकेट प्रतियोगितामा विभागीय टिम नेपाल पुलिस र आर्मीसहित प्रदेश नं. १ ले यसअघि नै सेमिफाइनल स्थान सुरक्षित गरेका थिए। बुधबारको खेलमा प्रदेश नं. ७ ले दिएको १ सय ८५ रनको लक्ष्य भारतीय टिमले ३८औं ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्‍यो। प्रतियोगितामा टिकिरहन सुपौलका लागि ३१ ओभरमा जित आवश्यक थियो। ३८औं ओभरमा जित निकाले पनि रनरेटमा पछि परेपछि प्रतियोगितामा उसको यात्रा बीचैमा टुंगिएको छ।

सुपौललाई जित दिलाउन सौरस गिल्लीले ४३ रन बनाए। सुमित मिश्राले २० रन बनाएको खेलमा अजय सिंहले २८ रन बनाउँदा एमडी इशाले नटआउट २३ रन र विश्वजितले नटआउट २० रन जोडे। प्रदेश नं. ७ का शेर मल्लले १० ओभर बलिङ गर्दै ५३ रन दिएर ४ भारतीय ब्याट्सम्यानलाई पवेलियनको बाटो देखाए। यसअघि टस जितेर पहिलो ब्याटिङ गरेको प्रदेश नं. ७ ले विपिन रावलको अर्धशतकको मद्दतमा १ सय ८४ रन जोडेको थियो।

५४ बल खेलेका रावलले ५३ रनको पारी खेले। ४२ ओभरमा अलआउट हुनुपूर्व टिमको खातामा रोशन अधिकारीले २५, लोकेश बमले २२ र शेर मल्लले ११ रन जोडेका थिए। अन्य ब्याट्सम्यान भारतीय बलर सामु टिक्न नसक्दा प्रदेश नं. ७ सस्तैमा समेटिन पुगेको थियो।

प्रकाशित: ३ माघ २०७५ ०४:२५ बिहीबार

मनमोहन_स्मृति_राष्ट्रिय_क्रिकेट_प्रतियोगिता प्रदेश_नं._७ सेमिफाइनल