खेल

महिला टि–२० क्रिकेट : थाइल्याण्डलाई पराजित गर्दै नेपाल समूह विजेता

काठमाडौं – थाइल्याण्डमा जारी महिला टी–२० स्मास क्रिकेट प्रतियोगितामा लगातार चार खेल जितेर नेपाल समूह विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको छ। प्रतियोगिताअन्तर्गत समूह चरणको अन्तिम खेलमा बुधबार घरेलु टोली थाइल्याण्ड ‘ए’ लाई ९ विकेटले पराजित गर्दै नेपाल विजयी भएको हो।

थाइल्याण्डको बैंककस्थित ट्रेडथाई क्रिकेट मैदानमा घरेलु टोलीले दिएको २० रनको सामान्य लक्ष्य नेपालले १ विकेट गुमाएर ३.३ ओभरमा पूरा गर्यो। नेपालका लागि ममताकुमारी चौधरीले ८ रन बनाउँदा नेरी थापा ५ र डोली भट्टले २ रनमा अविजित रहे। 

यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको घरेलु टोली थाइल्याण्ड नेपाली बलरसामू निरीह बन्दै १९ रनमा समेटिएको थियो। थाइल्याण्डलाई सस्तैमा समेट्ने क्रममा नेपालकी आरती बिडारीले ३ विकेट लिइन्। इन्दु बर्मा र सरिता मगरले २–२ तथा रूविना क्षेत्री, सोनु खड्का र सीता रानामगरले एक–एक विकेट लिए।

घरेलु टोलीका लागि तान्चानोक फोप्लुकले सर्वाधिक ४ रन बनाइन्। नेपालले अतिरिक्त ७ रन दिएको थियो। थाइल्याण्डका पाँच खेलाडी ० रनमा आउट भएका थिए। समूह ‘ए’ बाट संयुक्त अरब इमिरेट्स (युएइ) समूह उपविजेताका रूपमा यसअघि नै सेमिफाइनलमा पुगेको छ।

नेपालले पहिलो खेलमा चीनलाई, दोस्रो खेलमा मलेसियालाई र तेस्रो खेलमा यूएइलाई पराजित गरेको थियो। राष्ट्रिय टोलीका पूर्वकप्तान विनोद दासको प्रशिक्षणमा रहेको नेपाली टोलीले करिब २ वर्षपछि अन्तर्राष्ट्रिय महिला प्रतियोगिता खेलेको हो। यसअघि नेपाली महिला टोलीले सन् २०१७ को नोभेम्बरमा आइसिसि टि–२० विश्वकपको एसिया क्षेत्रको क्वालिफायर खेलेको थियो।

रुविना क्षेत्रीको कप्तानीमा रहेको नेपाली टोलीमा सीता रानामगर (उपकप्तान), करुणा भण्डारी, सरिता मगर, नेरी थापा, इन्दु बर्मा, सोनु खड्का, आरती विडारी, काजल श्रेष्ठ, रोमा थापा, कविता कुँवर, डोली भट्ट, ममताकुमारी चौधरी र विन्दु रावल छन्। प्रतियोगिताको सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ।

समूह ‘ए’ मा नेपालसहित चीन, संयुक्त अरब इमिरेट्स (युएई), मलेशिया र थाइल्याण्ड ‘ए’ तथा समूह ‘बी’मा हङ्कङ, थाइल्याण्ड, इण्डोनेसिया, भूटान र म्यान्मा छन् । नेपालले सेमिफाइनलमा समूह ‘बी’को उपविजेतासँग खेल्नेछ।

प्रकाशित: २ माघ २०७५ ०५:४५ बुधबार

थाइल्याण्ड महिला_टी–२०_स्मास_क्रिकेट नेपाल समूह_विजेता