काठमाडौं – थाइल्याण्डमा जारी महिला टि–२० स्मास क्रिकेटमा चीनलाई १० विकेटले पराजित गर्दै नेपाली महिला क्रिकेट टोलीले सानदार विजयी सुरुवात गरेको छ।
शनिबार बिहान थाइल्याण्डको बैंककमा चीनले दिएको ४९ रनको सामान्य लक्ष्य नेपालले ८.४ ओभरमा कुनै विकेट नगुमाइ पुरा गर्यो। नेपालको सहज जितमा सिता रानामगरले २३ र काजल श्रेष्ठले अविजित १४ रन जोडिन।
यसअघि टस हारेर पहिला ब्याटिङ गरेको चीनले पुरै २० ओभरमा खेल्दै ६ विकेटको क्षतिमा ४८ रन बनाएको थियो। चीनका लागि झाङ चानले सर्वाधिक १३ रन जोडिन। त्यस्तै वाङ लुवान्याउ ८, ली होयो ७ र हन लीली ३ रन जोडेका थिए।
चीनलाई सस्तैमा समेट्न नेपालकी करुणा भण्डारीले ३, नेरी थापाले २ तथा सिता रानाले विकेट लिइन्। जितसँगै समूह ‘ए’ मा रहेको नेपालले सेमिफाइनल पुग्ने सम्भावना कायम राखेको छ। नेपालले समूहमा २ अंक जोडेको छ। नेपालले दोस्रो खेलमा आइतबार मलेसियासँग प्रतिस्पर्धा गर्नेछ।
प्रकाशित: २८ पुस २०७५ ०५:५४ शनिबार