खेल

उपाधिका लागि आयोजक न्यु डायमन्ड र एपिएफ भिड्ने

पुलिसविरुद्ध स्पाइक हान्दै एपिएफकी सरस्वती चौधरी । तस्बिर सौजन्यः राखेप

काठमाडौं – साविकका विजेता र उपविजेताद्वय न्यु डायमन्ड एकेडेमी र विभागीय टोली एपिएफ दोस्रो होङ वान्जी न्यु डायमन्ड कप खुला राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन्।

नैकापस्थित न्यु डायमन्डको कोर्टमा शुक्रबार सम्पन्न पहिलो सेमिफाइनलमा एपिएफ विभागीय प्रतिद्वन्द्वी नेपाल पुलिस क्लबको चुनौती ३–१ ले समाप्त बनाउँदै फाइनलमा स्थान बनाएको हो। आयोजक न्यु डायमन्डले टप्स उच्च माविमाथिलाई सोझो सेटमा पराजित गर्दै एपिएफसँगको भेट पक्का गरेको हो।

निकै प्रतिस्पर्धात्मक खेलको पहिलो सेट एपिएफले २७–२५ ले आफ्नो बनाएको थियो। पहिलो सेटमा पाएको सफलता पछि दोस्रो सेटमा पनि लयलाई निरन्तरता दिएको एपिएफले स्पाइकर सरस्वती चौधरीको उत्कृष्ट प्रदर्शनमा २५–९ को सहज जित निकाल्न सफल भएको थियो। दुई सेटमा लगातार जित निकालेको एपिएफले तेस्रो सेट गुमायो।

सुरुआतबाट नै सन्तुलित प्रदर्शन गरेको पुलिसले तेस्रो सेट २५–२२ ले आफ्नो बनाउन सफल भयो। रोमाञ्चक बनेको चौथो सेट एपिएफले २५–२१ ले बाजी मार्दै अन्तिम दुईको यात्रा तय गर्न सफल भयो। शुक्रबारै सम्पन्न अर्को खेलमा आयोजक न्यु डायमन्डले टप्स उच्च माविमाथि सोझो सेटका जित निकाल्यो।

पहिलो सेटमा २५–१० को फराकिलो जित निकालेको न्यु डायमन्डले दोस्रो सेटमा पनि २५–११ को सहज जित निकाल्न सफल भएको थियो। लगातार दुई सेटमा पाएको सफलता पछि तेस्रो सेटमा प्रशिक्षक कुमार राई दोस्रो रोजाईका खेलाडीलाई मैदान उतारेका थिए। त्यसपछि प्रतिस्पर्धात्मक बनेको तेस्रो सेटमा आयोजकले २५–२१ को जित निकाल्यो।

लगातारका सेटमा बाजी मारेसँगै आयोजक न्यु डायमन्डले विभागीय चिरपरिचत प्रतिद्वन्द्वी एपिएफसँगको भेट पक्का गर्यो। प्रतियोगितामा शनिबार सेमिफाइनलका विजेताद्वय एपिएफ र न्यु डायमन्डबीच उपाधिलाई आमुनेसामुने हुनेछन्। तेस्रो स्थानका लागि सेमिफाइलनमा पराजित भएका टोलीद्वय नेपाल पुलिस र टप्स उच्चबीच भिडन्त हुनेछ।

सुकेधारास्थित होङ वान्जी बौद्ध समाज नेपालको मुख्य प्रायोजन सञ्चालन भएको प्रतियोगिताको विजेताले ३ लाख १ हजार र उपविजेताले २ लाख १ हजार रुपैयाँ पाउनेछन्। तेस्रो हुने टिमले एक लाख एक हजार र चौथोले ५१ हजार रुपैयाँ प्राप्त गर्ने छन्। प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले १५ हजार रुपैयाँ र व्यक्तिगत विधाका उत्कृष्टले जनही ५÷५ हजार रुपैयाँ प्राप्त गर्नेछन्।

प्रकाशित: २८ पुस २०७५ ००:३९ शनिबार

होङ_वान्जी न्यु_डायमन्ड_कप महिला_भलिबल न्यु_डायमन्ड_एकेडेमी एपिएफ