खेल

प्रिन्स र रसिला उपाधिनजिक

प्रिन्स दाहाल

काठमाडौं – यु–१५ का शीर्ष वरीयताका प्रिन्स दाहाल र रसिला महर्जन राष्ट्रपति कप जुनियर अन्तर्राष्ट्रिय ब्याडमिन्टनको फाइनलमा प्रवेश गरेका छन्।

मोरङ जिल्लाको सहिद रंगशालाको कर्भडहलमा सम्पन्न खेलमा प्रिन्स यु–१९ एकलमा शीर्ष २ वरीयताका रुकेश महर्जनमाथि २१–१३ र २१–१७  तथा यु–१५ मा हिमाल चन्दमाथि २१–६ र २१–२ को जित निकाल्दै दुवै विधाको फाइनलमा प्रवेश गरेका हुन्।

रसिला यु–१९ एकल र युगल तथा यु–१५ गरि तीन विधाको फाइनलमा पुगेकी हुन्। रसिलाले यु–१९ मा रञ्जना भट्टलाई २१–९ र २१–१२ ले पाखा लगाउँदै फाइनलमा यु–१९ की शीर्ष वरीयताकी जेसिका गुरुङसँगको भेट पक्का गरेकी हुन्। जेसिकाले सीमा राजवंशीलाई २१–१२ र २१–६ ले पराजित गरेकी हुन्।

यु–१५ तर्फ पनि रसिला रोज पाण्डेमाथि २१–७ र २१–५ ले जित निकाल्दै फाइनल प्रवेश गरिन्। यस्तै यु–१९ तर्फ पनि रसिला फाइनल प्रवेश गरिन्। जेसिका गुरुङसँगको जोडी बनाएकी रसिलाले सेमिफाइनलमा विश्ना बिष्ट र स्मृति राईको जोडीबाट वाक ओभर प्राप्त गर्दै उपाधिनजिक पुगेकी हुन्।

यु–१९ एकलमा शीर्ष २ वरीयताका रुकेश महर्जनमाथि २१–१३ र २१–१७ तथा यु–१५ मा हिमाल चन्दमाथि २१–६ र २१–२ को जित निकाल्दै प्रिन्स दाहाल दुवै विधाको फाइनलमा प्रवेश गरेका छन्।

मोरङ जिल्ला ब्याडमिन्टन संघको आयोजनामा भएको प्रतियोगिताको यु–१९ ब्वाइज एकलतर्फ शीर्ष वरीयताका प्रफुल महर्जनले पविन लिनथेपलाई २१–११ र २१–११ को सोझो सेटमा पराजित गर्दै फाइनल यात्रा तय गरे। अब उनले उपाधिका लागि प्रिन्स दाहालको सामना गर्ने छन्। प्रिन्स दुबई इन्टरनेसनल जुनियर ब्याडमिन्टनका उपाधि विजेता हुन्।

यु–१५ गल्र्स तर्फको खेलमा विश्ना बिष्ट घुँडामा चोटका कारण रिटायर्ड हुँदा स्मृति राई उपाधि भिडन्तमा पुगिन्। ५–३ को अग्रता लिइरहेको अवस्थामा विश्नालाई घुँडाको चोट बल्झेको थियो। अब स्मृतिले रसिलासँग उपाधिका लागि भिड्ने छिन्। ब्वाइजको सोही विधाततर्फ म्यानमारका ज लिन थु नेपालका रोशन साउदलाई २१–४ र २१–१५ ले पाखा लगाउँदै उपाधिका लागि प्रिन्ससँगको भेट पक्का गरे।

यु–१९ गल्र्स युगलतर्फ सीमा राजवंशी र निता लम्सालको जोडी फाइनल प्रवेश गरे। फाइनलमा जेसिका र रसिलाको जोडीसँग खेल्नेछन्। सीमा र निताको जोडीले रञ्जना भट्ट र रोज पाण्डेको जोडीलाई २१–१३ र २१–१३ को सेटमा हराए।
ब्वाइजतर्फ प्रफुल महर्जन र रुकेश महर्जनको जोडी फाइनल प्रवेश गरेका छन्। महर्जन जोडीले पेम्बा शेर्पा र प्रियान्सु क्षेत्रीको जोडीलाई २१–१० र २१–११ ले पराजित गर्दै फाइनलमा म्यानमारका खेलाडीसँग प्रतिस्पर्धा गर्ने भएका छन्।

अर्को खेलमा म्यानमारका ज लिन थु र थु रिनको जोडीले नेपालका पविन लिनथेप र दिवश विश्वकर्माको जोडीलाई २१–१८ र २१–१४ ले पराजित गरे। फाइनल खेल शुक्रबार हुनेछन्।

प्रकाशित: २७ पुस २०७५ ००:२० शुक्रबार

प्रिन्स_दाहाल रसिला_महर्जन राष्ट्रपति_कप_जुनियर_अन्तर्राष्ट्रिय_ब्याडमिन्टन फाइनल