खेल

सालाहलाई लगातार दोस्रो पटक अफ्रिकन वर्ष खेलाडीको अवार्ड

काठमाडौं –  इङ्लिस क्लब लिभरपुलका स्ट्राइकर मोहम्मद सालाहले लगातार दोस्रो पटक अफ्रिकन वर्ष खेलाडीको अवार्ड जितेका छन्। सालाहले आफ्नै क्लबका साडियो माने र आर्सनलका स्ट्राइकर पिएरी इमिरेक औवामेयाङलाई पछि पार्दै यो अवार्ड हात पारेका हुन्।

सेनेगलमा भएको विशेष समारोहमा सन् २०१८ मा अन्तर्राष्ट्रिय फुटबलका साथै देशका लागि पुर्याएको योगदानको उच्च मुल्याङ्कन गर्दै उनलाई यो अवार्ड दिइएको हो।

सालाहले २०१७–१८ को सिजनमा लिभरपुलका लागि ४८ गोल गरेका थिए। उनको उत्कृष्ट प्रदर्शनले लिभरपुल च्याम्पियन्स लिगको फाइनलमा पुगेको थियो। तर, फाइनल खेलमा भने सालाह घाइते हुँदै मैदान बाहिरिएक थिए। सो खेलमा लिभरपुल रियल मड्रिडसँग पराजित भएको थियो।

यस्तै रसिया विश्वकप २०१८ मा देशले खराब प्रदर्शन गरेपनि उनले दुई गोल गरेका थिए। उनी चोटका कारण सुरुवाती खेलमा बेन्चमा बसेका थिए। सलाहले यो सिजनमा २९ खेलमा १६ गोल गरिसकेका छन्।

उपाधिसँगै सलाह वर्षको उत्कृष्ट ‘टिम अफ दी इयर’मा समेत पनि परेका छन्। उनीसँगै औवामेयाङ पनि सो टिममा अटाएका छन्। सालाहले यसअघि बीबीसी अफ्रिकन वर्ष खेलाडी अवार्ड समेत जितेका थिए।

यता महिलातर्फ दक्षिण अफ्रिकाकी थेम्बी गाट्लानाले यो अवार्ड हात पारिन्। यही मंगलबारबाट इजिप्टले सन् २०१९ को अफ्रिकन कप अफ नेशन्सको आयोजना गर्दैछ।

प्रकाशित: २५ पुस २०७५ ०४:२४ बुधबार

मोहम्मद_सालाह अफ्रिकन_वर्ष_खेलाडी अवार्ड