खेल

समृद्धि र नर्थ पोलको विजयी सुरुआत

काठमाडौं – समृद्धि गोरिल्लाज र काठमाडौं नर्थ पोल क्लबले शनिबार तेस्रो बुम महिला बास्केटबल प्रतियोगितामा  विजयी सुरुआत गरेका छन्।

समृद्धिले आयोजकमध्येको एक विशाल मिलन केन्द्र (बिएमके) लाई ४५–२० ले पराजित गर्यो। समृद्धिको जितमा सोनी वाइबाले १४ अंकको योगदान गरिन्। पहिलो क्वार्टरमा १५–० को अग्रता बनाएको समृद्धिले अन्तिमसम्म अग्रतालाई जोगाइराख्यो। समृद्धिले दोस्रोमा ११–८, तेस्रोमा ८–६ र चौथोमा ११–६ स्कोर गर्यो।

चण्डोलस्थित बिएमकेको कोर्टमा सन्जु हुवाईले १२ अंकको सहयोग गरेपछि काठमाडौं नर्थ पोलले अर्को आयोजक एनसिसिएिसलाई २९–२४ को साँघुरो अन्तरले हरायो। पराजित एनसिसिएसकी लोमससिंह श्रेष्ठले पनि १२ अंक जोडिन्। सुरुको क्वार्टरमा ७–१ को अग्रता बनाएको काठमाडौं नर्थ पोल दोस्रो र तेस्रो क्वार्टरमा क्रमशः २–५ र ८–१० ले पछि परेको थियो।

काठमाडौं नर्थ पोलले चौथो तथा अन्तिम क्वार्टर १२–८ ले आफ्नो पक्षमा पार्दै जित सुनिश्चित गर्यो। आठदिने प्रतियोगितामा ५ टिम सहभागी छन्। पहिलो राउन्ड लिगका आधारमा खेलाइने छ। त्यसपछि शीर्ष ४ स्थान हात पार्ने टोलीमध्ये पहिलो र दोस्रो हुनेले फाइनल प्रवेशका लागि भिड्नेछन्।

यसमा पराजितले तेस्रो र चौथोबीचको विजेतासँग पुनः फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ। प्रतियोगितामा राष्ट्रिय टिमका १२ खेलाडीबाहेक सबैले प्रतिस्पर्धा गर्ने पाउने प्रावधान छ। आइतबार स्मार्ट लियोपार्ड र बिएमके तथा समृद्धि र डिफेन्डिङ च्याम्पियन साइपालबीच खेल हुनेछ।

प्रकाशित: २२ पुस २०७५ ००:०३ आइतबार

समृद्धि_गोरिल्लाज काठमाडौं_नर्थ_पोल बुम_महिला_बास्केटबल