खेल

पहिलो खेलमा पुलिसको जित

इटहरी – प्रदेश नं. २ लाई हराउँदै नेपाल पुलिस क्लब शनिबार सुनसरी सदरमुकाम इनरुवामा सुरु मनमोहन स्मृति कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी भएको छ।

इनरुवा खेलमैदानमा भएको खेलमा ३ सय १२ रनको लक्ष्य पछ्याएको प्रदेश नंं. २ लाई १ सय ९९ रनमा समेट्दै पुलिसले १ सय १२ रनको फराकिलो जित निकालेको हो। प्रधानमन्त्री कपपछि नेपालको क्रिकेट इतिहासमा उपत्यकाबाहिर पहिलो पटक भएको ५० ओभरको राष्ट्रिय क्रिकेट प्रतियोगितामा प्रदेश नं. २ लाई सस्तैमा समेट्न पुलिसका ललित राजवंशी र योगेन्द्र कार्कीले समान ३–३ विकेट चट्काए।

प्रतियोगितामा उपत्यकाबाहिर पहिलोपल्ट टफ विकेटमा राष्ट्रिय खेलाडी खेलेकोमा प्रदेश नं. २ का लागि हरिशंकर साहले ५८ र समसुद सेखले २९ रनबनाउनु बाहेक अन्य ब्याट्सम्यान क्रिजमा जम्न सकेनन्। टिमका लागि कप्तान मेहबुब आलमले १३ रन मात्रै जोड्न सके।  यसअघि टस जितेर पहिलो ब्याटिङ गरेको पुलिसले जितका लागि प्रदेश नंं. २ लाई ३ सय १२ रनको लक्ष्य दिएको थियो।

निर्धारित ५० ओभर खेल्दै पुलिसले ९ विकेटको क्षतिमा ३ सय ११ रन जोडेको थियो। पुलिसका तीन ब्याट्सम्यानले अर्धशतक पूरा गरेका थिए। पुलिसका लागि सुनील धमलाले ७३ रन जोडे भने दिलीप नाथले ५९ रन बनाएका थिए। त्यसै गरी, अमित श्रेष्ठले ४२ रन र योगेन्द्र कार्कीले २६ रनको पारी खेल्दा कुशल भुर्तेलले टिमका लागि नटआउट ५६ रन जोडे।  बलिङतर्फ प्रदेश नंं. २ का रसिद खान र हरिशंकर साहले २÷२ विकेट लिए।

म्यान अफ दी म्याच नेपाल पुलिसका सुनील धमला घोषित भए। प्रतियोगिताअन्तर्गत आइतबारको खेल आयोजक इनरुवा र नेपाल पुलिसबीच हुनेछ।

प्रतियोगिताकोे विजेताले नगद चार लाख एक हजारसहित शिल्ड र प्रमाणपत्र पाउनेछ।  उपविजेताले दुई लाख एक हजारसहित शिल्ड र प्रमाणपत्र प्राप्त गर्नेछ। त्यस्तै, सेमिफाइनलबाट आउट हुने दुईवटा टोलीलाई २५–२५ हजार रुपैयाँ प्रदान गरिनेछ। प्रतियोगितामा तीन विभागिय टोलीसहित सातवटै प्रदेश, आयोजक इनरुवा र पाहुना टोली भारतको सुपौल क्रिकेट क्लब सहभागी छन्।

प्रकाशित: २२ पुस २०७५ ००:१६ आइतबार

नेपाल_पुलिस_क्लब मनमोहन_स्मृति_कप क्रिकेट