स्याङ्जा – वन्डरफूल वालिङ पर्यटन विकास संस्थाको आयोजनामा वालिङमा ‘वालिङ–१००’ एक दिवसीय अन्तर्राष्ट्रिय माउण्टेन बाइक दौड (म्याराथन) प्रतियोगिता आगामी माघ १८ मा हुने भएको छ। प्रतियोगिताको प्रमुख संरक्षक वालिङ नगरपालिका र सहयोगी संस्था वालिङ उद्योग वाणिज्य संघ हुन्।
‘वालिङ–१००’ भन्नाले माउण्टेन बाइक दौड (म्याराथन) को दूरी हो, अर्थात दौड एक सय किलोमिटर हुनेछ। आँधीखोला भ्यालीमा निर्मित माउण्टेन बाइक रंगशाला ‘वालिङ–१०० अल्टिमेट एमटिबी ट्रेल’ लाई विश्वमै प्रचार–प्रसार गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको वन्डरफूल वालिङ पर्यटन विकास संस्थाका अध्यक्ष एवं प्रतियोगिता संयोजक दिनेश तिवारी (दिनकर) ले बताए।
‘आँधीखोला भ्यालीमा निर्मित माउण्टेन बाइक रंगशाला दक्षिण एसियाकै उत्कृष्ट रंगशाला हो,’ उनले दाबी गरे, ‘हामी वालिङलाई विश्वकै उत्कृष्ट गन्तव्य बनाउने अभियानमा छौं।’ नेपालका साहसिक खेलका सम्भावनालाई अन्तर्राष्ट्रिय स्तरमा प्रचार–प्रसार गर्ने कार्यमा प्रतियोगिताले कोशेढुंगा सवित गर्ने उनले बताए। प्रतियोगिताबाट वालिङ, स्याङ्जा र नेपालको पर्यटनमा टेवा पुग्ने उनले विश्वास लिइएको छ। उनले भने, ‘वालिङ र आसपासका क्षेत्रको साहसिक खेल इतिहासमा माउण्टेन बाइकको नयाँ युग सुरु हुँदैछ। माउण्टेन बाइकिङ नेपाली खेलाडीलाई उत्कृष्ट अवसर हो।’
‘प्रतियोगिताले वालिङको नाम नेपालमा होइन, विश्वमा परिचय गराउँछ,’ उनले भने, ‘वालिङ साहसिक खेलको गन्तव्यका रुपमा विश्वमै चिनिनेछ।’ साहसिक पर्यटनको सम्भावनालाई विश्वमा प्रचार–प्रसार हुनुका साथै वालिङमा साइकल संस्कृतिको विकास हुने उनले अपेक्षा गरेका छन्। उनले भने, ‘माउण्टेन बाइक दीर्घकालीन सोँच हो। स्वस्थ नागरिक र नगरवासीका साइकल संस्कृति अनिवार्य छ।’ नेपालमा साइकल संस्कृतिको विकास गर्न सके प्रदुषण कमि, पेट्रोलियम पदार्थको अभावमा कमी, स्वस्थ वातावरण र स्वस्थ नागरिक उत्पादन हुने उनको तर्क छ।
यस वर्ष साहसिक खेल पर्यटनसँग सम्बन्धित खेलाडी तथा दर्शकको उपस्थिति हुने उनले अपेक्षा गरेका छन्। बिहान सात बजे सुरु हुने खेलको दुरी प्रतिस्पर्धीले १० घण्टामा पूरा गर्नैपर्छ। करिब ३० देशका १ सय ५० जना खेलाडी सहभागी हुने खेलमा टाइटल पुरस्कार ५ लाख रहेको छ। महिला प्रतिस्पर्धीबाट प्रथम हुनेले ३ लाख र पुरुषतर्फबाट प्रथम हुनेले १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन।
पहिलो २५ किमी, दोस्रो ५० किमी, तेस्रो ७५ किमी र अन्तिम एकसय किमी दुरी निर्धारण गरिएको छ। तोकिएको दूरी १० घण्टामा पार गर्नैपर्नेछ। खेल बिहान सात बजे सुरु हुनेछ। प्रतियोगीले खेलका लागि नेपालीले ५ हजार रुपैयाँ र विदेशीले १ सय ५० डलर शुल्क बुझाउनुपर्नेछ।
वालिङ खेल मैदानबाट प्रतियोगिता सुरु हुनेछ। प्रतिस्पर्धीका लागि साइक्लिङ रुट वालिङ खेल मैदान–त्रियासी, राक्से, सिरुबारे, छापा, सिँगारकोट, माझकोट, राम्चे, तल्लाथोक, बस्यानी, मलागिरी, मिनाङ्कोट, केवरेभञ्ज्याङ, गह्रौंसुर, करादी, बायाँटारी, अकलादेवी मन्दिर, सिर्सेकोट, डुम्रेभञ्ज्याङ, सिरकोट, स्वरेक, अमले तय गरिएको छ।
प्रकाशित: २१ पुस २०७५ १२:३९ शनिबार