खेल

विभागीय टिमकै वर्चस्व

इटहरी - इटहरीमा जारी दोस्रो सभामुख कप राष्ट्रिय भलिबल प्रतियोगितामा शुक्रबार पनि विभागीय टोलीले जितलाई निरन्तरता दिएका छन्।

शुक्रबारको खेलमा विभागीय टोली एपिएफले प्रदेश नम्बर–५ लाई पराजित गर्दै अघिल्लो चरणको यात्रालाई सहज बनाएको छ। एपिएफले प्रदेश नम्बर पाँचलाई सोझो सेटमा पराजित गरेको हो। निकै प्रतिस्पर्धात्मक पहिलो सेटमा एपिएफले २६–२४ को जित निकाल्न सफल भएको थियो। दोस्रो सेटमा पनि २६–२४ को संघर्षपूर्ण जित निकालेको एपिएफले तेस्रो सेट भने २५–१५ ले  सहजै आफ्नो पक्षमा पार्न सफल भएको थियो। योसँगै एपिएफले लिगमा दोस्रो जित दर्ता गराएको छ।

प्रतियोगिताअन्र्तगत शुक्रबारै सम्पन्न खेलमा अर्को विभागीय टोली नेपाल पुलिसले प्रदेश नम्बर–२ लाई पनि सोझो सेटमा पराजित गर्दै अघिल्लो चरणको यात्रालाई सहज बनाएको छ। पहिलो सेटमा २५–९ को फराकिलो जित निकालेको पुलिसले दोस्रो  २५–१८ ले आफ्नो बनाएको थियो। लगातार दुई सेट आफ्नो पक्षमा पार्दै उच्च मनोबल बनाएको पुलिसले तेस्रो सेट पनि २५–७ को फराकिलो अन्तरले आफ्नो बनायो।

पुलिसले पनि प्रतियोगितामा लगातार दोस्रो जित दर्ता निकाल्न सफल भयो। शुक्रबार नै भएको तेस्रो खेलमा प्रदेश–५ ले प्रदेश नम्बर–७ लाई पनि ३–० को सोझो सेटमा स्तब्ध बनायो। पहिलो सेट २५–१३ ले आफ्नो बनाएको प्रदेश–५ ले दोस्रो सेटमा पनि २५–१७ को सफलता प्राप्त गर्‍यो। तेस्रो सेटमा प्रदेश–७ ले केही सुधारिएको खेल देखाए पनि १९–२५ को नतिजा सुम्पिँदा प्रदेश–५ ले सोझो सेटमा सफलता प्राप्त गरेको थियो।

लिगचरणको अन्तिम खेलमा प्रदेश–३ ले प्रदेश–२ लाई ३–० को सोझो सेटले पराजित गरेको थियो। सो खेलमा प्रदेश–३ ले प्रदेश–२ माथि २५–२१, २९–२७ र २७–२५ को जित निकालेको थियो। प्रतियोगिताअन्तर्गत शनिबार पहिलो क्वार्टरफाइनलमा नेपाल पुलिस क्लब र प्रदेश–१ बीच प्रतिस्पर्धा हुनेछ।

दोस्रो क्वार्टरफाइनलमा एपिएफ र कर्णाली प्रदेशबीच हुनेछ। तेस्रो क्वार्टरफाइनलमा प्रदेश–३ र प्रदेश–४ बीच प्रतिस्पर्धा हुँदा अन्तिम क्वार्टरफाइनलमा त्रिभुवन आर्मी र प्रदेश–५ बीच खेल हुनेछ। पुस २३ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले नगद चार लाख रुपैयाँ, उपविजेता टिमले नगद दुई लाख रुपैयाँ प्राप्त गर्नेछन् भने तेस्रो हुने टिमले नगद एक लाख रुपैयाँ हात पार्नेछ।

प्रकाशित: २१ पुस २०७५ ०६:११ शनिबार

सभामुख_कप_राष्ट्रिय_भलिबल_प्रतियोगिता एपिएफ