खेल

लिभरपुलको अपराजित यात्रामा सिटीले लगाइदियो पुर्णविराम

काठमाडौं – इङ्लिस प्रिमियर लिग फुटबलको उपाधि होड थप रोमाञ्चक बनेको छ।  बिहीबार राति इत्तेहाद स्टेडियममा भएको प्रतिस्पर्धात्मक खेलमा शीर्ष स्थानको लिभरपुल म्यानचेस्टर सिटीसँग २–१ ले पराजित भएपछि उपाधिको होड खुल्ला भएको हो।

सिटीको जितमा सर्जियो अगुइरो र लिरोइ सानेले गोल गरे। पराजित लिभरपुलका रोबर्टो फिर्मिनोले एक गोल फर्काए। खेलको ४० औं मिनेटमा सिटीका अगुइरोले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए। पहिलो हाफमा १–० ले पछि परेको लिभरपुलका लागि ६४ औं मिनेटमा फिर्मिनोले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए। तर, ७२ औं मिनेटमा सिटीका जर्मन खेलाडी सानेले गोल गर्दै खेल २–१ को अवस्थामा ल्याए।

त्यसपछि लिभरपुलले खेलमा फर्कने दुईवटा सुन्दर मौका पाएपनि त्यसलाई सदुपयोग गर्न नसक्दा यो सिजनको पहिलो हार ब्यहोर्यो। हारपछि सिटीले लिभरपुलसँगको अन्तर ४ अंकमा झारेको छ। लिभरपुलको २१ खेलबाट ५४ अंक छ भने सिटी ५० अंकका साथ दोस्रो स्थानमा छ।

प्रकाशित: २० पुस २०७५ ०५:२० शुक्रबार

इङ्लिस_प्रिमियर_लिग उपाधि_होड लिभरपुल म्यानचेस्टर_सिटी