खेल

अन्तरमावि फुटबल शुक्रबारदेखि

खोटाङ – खोटाङमा शुक्रबारदेखि दोस्रो अन्तरमावि छात्र फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ। आयोजक खोटाङ फुटबल एकेडेमीले बिहीबार साँझ पत्रकार सम्मेलन गरेर प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको छ।

फुटबल खेलमा सम्भावना बोकेका प्रतिभाको पहिचान गर्दै व्यावसायिक खेलाडी उत्पादन गर्ने लक्ष्यका साथ अन्तरमावि छात्र फुटबल प्रतियोगिताको दोस्रो संस्करणका लागि तयारी गरिएको खोटाङ फुटबल एकेडेमीका अध्यक्ष नुरकाजी सैंजुले बताए।

माटिकोरे खेलमैदानमा सञ्चालन हुने प्रतियोगितामा प्रथम र दोस्रो स्थान प्राप्त गर्ने टिमलाई क्रमशः १५ हजार र १० हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ। पुस २५ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा मावि तहमा अध्ययनरत छात्रलाई मात्र सहभागी गराइने आयोजकले जनाएको छ। प्रतियोगितामा जिल्लाका १८ माविका १८ टिमको प्रतिस्पर्धा हुने खोटाङ फुटबल एकेडेमीका अध्यक्ष सैंजुले बताए।

प्रकाशित: २० पुस २०७५ ००:१५ शुक्रबार

खोटाङ अन्तरमावि_छात्र_फुटबल