खेल

मणि शाहको स्मृतिमा पुरस्कार

काठमाडौं – अखिल नेपाल फुटबल संघ (एन्फा)ले राष्ट्रिय टोलीका पूर्वकप्तान स्व.मणिविक्रम शाहको स्मृतिमा ‘मणिविक्रम शाह योङ प्लेयर अवार्ड’ को घोषणा गरेको छ।

एन्फाले बिहीबार एक विज्ञप्तिमार्फत जारी सहिद स्मारक ‘ए’ डिभिजन लिगको उत्कृष्ट युवा खेलाडीलाई सो अवार्ड दिने घोषणा गरेको हो। अवार्डको पुरस्कार राशि नगद १ लाख रहेको छ। यसका साथै लिगका विभिन्न ४ विधाका उत्कृष्ट खेलाडीले एक थान पल्सर मोटरसाइकल हात पार्र्नेछन्। नेपाली म्याराडोनाको उपनाम पाएका शाहको गत वैशाखमा निधन भएको थियो।

‘मणिविक्रम शाहले नेपाली फुटबलमा पुर्याएको योगदानको सम्मानस्वरूप हामीले उहाँको सम्झनामा मणिविक्रम शाह योङ प्लेयर अवार्ड घोषणा गरेका हौं,’ एन्फा प्रवक्ता किरण राईले भने।

साथै एन्फाले लिगका अन्तिम चरणका खेलहरूको तालिकासमेत सार्वजनिक गरेको छ। पुस २१ गतेबाट सुरु हुने अन्तिम चरणअन्तर्गत एपिएफ मैदान हलचोकमा हुने दिनको पहिलो खेलमा जावलाखेल क्लबले च्यासल युथ क्लबको सामना गर्नेछ भने दोस्रो खेलमा नेपाल पुलिस क्लबले सरस्वती क्लबसँग खेल्नेछ। २२ गते एन्फा मुख्यालयमा हुने पहिलो खेलमा न्युरोड टिम (एनआरटी) ले ब्रिगेड ब्वाइज तथा हलचोकमा हुने खेलमा फ्रेन्ड्स क्लबले मनाङको सामना गर्नेछन्।

२४ गते लिगमा तीन खेल हुनेछन्। एन्फा परिसरमा हुने पहिलो खेलमा मच्छिन्द्र क्लबले त्रिभुवन आर्मी क्लबको सामना गर्दा दोस्रो खेलमा संकटाले एपिएफसँग खेल्नेछ। थ्री स्टार र हिमायन शेर्पा क्लबबीच हुने दिनको अन्तिम खेलसँगै यस वर्षको ‘ए’ डिभिजन लिगले बिट मार्नेछ।

५ वर्षपछि पहिलो पटक सञ्चालन भएको ‘ए’ डिभिजनको उपाधि मनाङ मस्र्याङ्दी क्लबले जितिसकेको छ भने संकटा उपविजेता बनेको छ। मनाङ १२ खेलमा ३६ अंकका साथ शीर्ष स्थानमा छ। मनाङले विजेता बन्दै नगद ५० लाख हात पार्दा उपविजेता संकटाले ३५ लाख हात पार्नेछ।

प्रकाशित: २० पुस २०७५ ००:०८ शुक्रबार

एन्फा स्व.मणिविक्रम_शाह योङ_प्लेयर_अवार्ड