खेल

जिल्ला कोटा अनुमोदन

काठमाडौं – आठौं राष्ट्रिय खेलकुद कार्यकारी समितिको बुधबार बसेको तेस्रो बैठकले जिल्ला छनोट तथा खेल सामग्रीका लागि जिल्लालाई निकासा गरेको रकम र जिल्ला कोटा अनुमोदन गर्ने निर्णय गरेको छ।

प्रदेशबाट राष्ट्रिय खेलकुदमा सहभागी हुने खेलाडी, प्रशिक्षक, व्यवस्थापक, संघ प्रतिनिधिको कोटा अनुमोदन गर्ने निर्णय गर्नुका साथै प्रदेश छनोट मिति र राष्ट्रिय खेलकुदको मिति बोर्डमा प्रस्ताव गर्ने निर्णय बैठकले गरेको राखेपका प्रेस सल्लाहकार रोहित दाहालले जानकारी दिएका छन्।

राष्ट्रिय खेलकुदका लागि गठित विभिन्न उपसमितिलाई एक हप्ताभित्र पूर्णता दिने तथा ओलम्पिक टर्चलाई विराटनगरबाट सबै प्रदेशमा पुर्याउने गरी लुम्बिनी हुँदै नेपालगन्जसम्म लाने निर्णय बैठकले गरेको छ। प्रदेश छनोट र राष्ट्रिय खेलकुदका साथै दक्षिण एसियाली खेलकुद (साग) सम्म खेलाडी दुर्घटना बिमा गर्ने निर्णय पनि बैठकले गरेको छ।

मुख्य मिडिया सेन्टर नेपालगन्जमा स्थापना गर्ने, पदक र पोसाक छनोट उपसमितिबाट छनोट भएका नमुनालाई छलफल गरी अनुमोदन गर्ने तथा एनआरएन खेलाडी सहभागिताका सम्बन्धमा युवा तथा खेलकुद मन्त्रलयसँग समन्वय गरेर टुंगो लगाउनेलगायत निर्णय भएको दाहालले जानकारी दिए। राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव एवं कार्यकारी समितिका अध्यक्ष केशवकुमार विष्टको अध्यक्षतामा  बैठक बसेको थियो।

प्रकाशित: १९ पुस २०७५ ००:४७ बिहीबार

आठौं_राष्ट्रिय_खेलकुद जिल्ला_कोटा