खेल

युनाइटेड फर्किए फर्गुसन

लन्डन – मस्तिकघात भएका पूर्वप्रशिक्षक सर एलेक्स फर्गुसन पुनः म्यानचेस्टर युनाइटेडको प्रशिक्षकका रूपमा फर्किएका छन्। म्याचेस्टर युनाइटेडको अन्तरिम प्रशिक्षकको रूपमा नियुक्त भएका ओले गनर सोल्सजायरले पूर्वप्रशिक्षक फर्गुसन शनिबार टोलीमा फर्किएको बताए।

अन्तरिम प्रशिक्षक सोल्सजायरको आग्रहपछि शनिबार युनाइटेडका पूर्वप्रशिक्षक फर्गुसन पाँच वर्षपछि फेरि युनाइटेडको प्रशिक्षणमा फर्किएका हुन्। युनाइटेडका अहिलेसम्मका सफल र लिजेन्ड प्रशिक्षक मानिएका फर्गुसन ५ वर्षपछि क्लबको प्रशिक्षणस्थलमा अन्तरिम प्रशिक्षकको सहयोगका लागि  देखिएका छन्।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार फर्गुसन सोल्सजायरको आग्रहमा शनिबार करिङटनमा उपस्थित भएका हुन्। फर्गुसनले अन्तरिम प्रशिक्षक सोल्सजायरसँग छलफल गर्दै रणनीतिका बारेमा कुरा गर्ने बताइएको छ। सोल्सजायरलाई अन्तरिम प्रशिक्षकमा ल्याउन फर्गुसनको पनि हात रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

जोजे माउरिन्होको बर्खास्तीपछि अन्तरिम प्रशिक्षकको रूपमा नियुक्त भएका सोल्सजायरले युनाइटेडको टोली सम्हालेपछि क्लबले लगातारका खेलमा सुखद नतिजा निकाल्न सफल भएको छ। पुनः युनाइटेड सम्हाल्न लागेका फर्गुसनले यसअघि क्लबमा २६ वर्ष बिताएका थिए। १९८६ देखि २०१३ सम्म युनाइटेड टोलीलाई सम्हालेका फर्गुसनले टोलीका लागि कुल ३८ उपाधि दिलाएका छन्।

जसमा मुख्य १३ इङ्लिस प्रिमियर लिग उपाधि छन् भने ५ एफए कप, ४ लिग कप र २ च्याम्पियन्स लिग छन्। फर्गुसनले सन् २०१२–१३ को सिजनमा क्लबलाई प्रिमियर लिगको उपाधि दिलाएपछि प्रशिक्षणबाट संन्यास लिएका  थिए।

प्रकाशित: १९ पुस २०७५ ००:३९ बिहीबार

सर_एलेक्स_फर्गुसन म्यानचेस्टर_युनाइटेड प्रशिक्षक