खेल

टोटेनह्याम प्रिमियर लिगको दोस्रो स्थानमा, फुलह्याममाथि आर्सनलको फराकिलो जित

काठमाडौं – कार्डीफ सिटीलाई ३–० ले हराउँदै टोटेनह्यामले इङ्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको लिभरपुलसँगको दूरी ६ अंकमा झारेको छ। कार्डीफको घरेलु मैदानमा मंगलबार राति भएको खेलमा टोटेनह्यामको जितमा ह्यारी केन, क्रिस्टियन एरिक्सन र सन ह्युङ मिनले गोल गरे। टोटेनह्यामले तीनै गोल पहिलो हाफमा गरेको हो।

खेलको तेस्रो मिनेटमा नै टोटेनह्यामले केनको गोलमा अग्रता बनाएको थियो। अघिल्लो खेलमा उल्भ्ससँग ३–१ को आश्चर्यजनक हार ब्यहोरेको टोटेनह्यामले गएराति भने राम्रो खेल खेलेको थियो। १२ औं मिनेटमा एरिक्सन गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए। त्यसपछि २६ औं मिनेटमा ह्युङ मिनले टिमका लागि तेस्रो गोल गरेसँगै टोटेनह्यामले ३–० को अग्रता लिएको थियो।

तर, त्यसपछि दुवै टोलीबाट कुनै गोल नभएपछि टोटेनह्यमले खेलमा बाजी मार्यो। दोस्रो हाफमा पनि पाएका केही मौकालाई दुवै टोलीले सदुपयोग गर्न सकेनन्। जितपछि टोटेनह्यामको २१ खेलबाट ४८ अंक भएको छ भने एक खेल कम खेलेको लिभरपुलको ५४ अंक छ। पराजित कार्डीफको भने १८ अंकका साथ १६ औं स्थानमा छ।

त्यस्तै घरेलु मैदानमा रातिनै भएको अर्को खेलमा आर्सनलले फुलह्यामलाई ४–१ ले पराजित गरेको छ। अघिल्लो खेलमा लिभरपुलसँग ५–१ को फराकिलो हार ब्यहोरेको आर्सनलले गएराति भने रेलिगेसन जोनमा रहेको फुलह्यामविरुद्ध भने उत्कृष्ट खेल पस्केको थियो।

आर्सनललाई जित दिलाउन ग्रानिट जाका, अलेक्सान्द्रे लाकाजेटी, एरोन राम्से र पिएरे एमरिक औबामेयाङ्ले गोल गरे। पराजित टोलीको लागि अबुबाकर कमाराले एक गोल फर्काए। खेलको २५औं मिनेटमा जाकाले गोल गर्दै आर्सनललाई सुरुवाती अग्रता दिलाएका थिए।

पहिलो हाफमा १ गोलको अग्रता बनाएको आर्सनलका लागि ५५औं मिनेटमा लाकाजेटीले गोल गर्दै अग्रता दोब्बर बनाए। ६९औं मिनेटमा फुलह्यामका अबुबाकर कमाराले गोल गर्दै अग्रता २–१ मा झारेका थिए। तर, ७९औै मिनेटमा राम्से र ८३ औं मिनेटमा औबामेयाङ्ले गोल गर्दै आर्सनललाई ४–१ को सहज जित दिलाए। जितसँगै २१ खेलबाट ४१ अंक जोडेको आर्सनल लिगको पाँचौं स्थानमा छ। फुलह्याम भने १४ अंकका साथ १९ औं स्थानमा छ।

त्यस्तै अर्को खेलमा एभर्टनमाथि १–० को कठिन जित निकाल्दै लेस्टर सिटी प्रिमियर लिगको सातौं स्थानमा उक्लिएको छ। लेस्टरको जितमा एकमात्र निर्णायक गोल खेलको ५८औं मिनेटमा रिकार्डो परेराको पासमा जेमी भार्डीले गरेका थिए। जितसँगै लेस्टरको ३१ अंक भएको छ। पराजित एभर्टन भने २७ अंकका साथ दशौं स्थानमा छ।

प्रकाशित: १८ पुस २०७५ ०५:३८ बुधबार

टोटेनह्याम प्रिमियर_लिग_फुटबल दोस्रो_स्थान आर्सनल