खेल

प्रदेश रंगशालाको पक्षमा मानव साङ्लो

नारायणी रंगशालामा बनाइएको मानव साङ्लो। तस्बिर : नागरिक

वीरगन्ज – वीरगन्जमा रहेको नारायणी रंगशालालाई प्रादेशिक रंगशाला बनाउन माग गर्दै सोमबार यहाँ मानव साङ्लो बनाएर दबाब कार्यक्रम गरिएको छ। नेपाल कम्युनिस्ट पार्टी, नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी नेपालका स्थानीय नेताहरूको पहलमा मानव साङ्लो बनाइएको हो।

डिपिआर तयार भइसकेको र खेलकुद परिषद्को आफ्नै स्वामित्वको १८ बिघा जग्गा भएको नारायणी रंगशालालाई प्रादेशिक रंगशाला नबनाई  प्रदेश २ को सरकारले जनकपुरमा भाडामा जग्गा लिई प्रादेशिक रंगशाला बनाउन लागेको भन्दै वीरगन्जमा २ साता अघिदेखि विरोध भइरहेको छ।

दशरथ रंगशालापछि देशकै दोस्रो ठूलो रंगशाला भए पनि नारायणी रंगशालालाई उपेक्षा गरिएको स्थानीयको आरोप छ। मानव साङ्लोमा सहभागीहरूले वीरगन्जमा प्रादेशिक रंगशाला नबनाए प्रदेश सरकारविरुद्ध कडा आन्दोलन गर्ने चेतावनी दिए। प्रदेश सरकारले नारायणी रंगशलालाई उपेक्षा गरेका कारण आन्दोलनमा उत्रनुपरेको राजपाका महासचिव राजेशमान सिंहले बताए। ‘साबिकको मध्यमाञ्चलस्तरीय यस रंगशालालाई अब प्रादेशिक रंगशाला बनाउनुपथ्र्याे, तर वीरगन्जलाई थिचोमिचो गर्ने मनसायले जनकपुरमा भाडामा जग्गा लिएर प्रादेशिक रंगशाला बनाउन खोजिएको छ,’ उनले भने।

मानव साङ्लोमा नेपाली कांग्रेसका पर्सा सभापति अजयकुमार द्विवेदीलगायतका नेताहरू, नेकपा एमालेका बिचारी यादवलगायतका नेताहरू, उद्योगी, व्यवसायी, खेलाडी, नागरिक समाजका अगुवालगायतको सहभागिता थियो। प्रदेश २ मा सतारूढ संघीय समाजवादी फोरम, नेपालका नेता र राजपाको एउटा खेमाका नेताहरू यसमा सामेल भएनन्।

२०४२ सालमा नारायणी रंगशाला निर्माण भएको थियो। रंगशाला पुनर्निर्माणको लागि २ अर्ब ६६ करोडको डिपिआर तयार पारिएको भए पनि रकमको अभावमा काम अघि बढ्न सकेको छैन। यस्तोमा संघीय सरकारको नीति तथा कार्यक्रममा प्रत्येक प्रदेशमा रंगशाला बनाउने घोषणासँगै वीरगन्जको प्रस्तावित बहुउद्देश्यीय रंगशालाको सपना साकार हुने स्थानीय खेलप्रेमीमा आशा पलाएको थियो। त्यो आशा तुहिएको अग्रज खेलाडी शिवशंकर पटेलले बताए। अहिले रंगशालाका लागि ७५ लाख बजेट आएकोमा पर्खाल लगाउने काम भइरहेको मध्यमाञ्चल खेलकुद विकास समितिका अध्यक्ष मानदेव हजाराले जानकारी दिए।

प्रकाशित: १८ पुस २०७५ ०४:३२ बुधबार

नारायणी_रंगशाला प्रादेशिक_रंगशाला मानव_साङ्लो