खेल

‘ए’ डिभिजन लिग : आर्मी जावलाखेलसँग बराबरीमा रोकियो

मच्छिन्द्रविरुद्ध बल अगाडि बढाउने प्रयासमा एनआरटीका सुशील लामा (हरियो) । तस्बिर सौजन्यः एन्फा

काठमाडौं – शीर्ष तीनभित्र अटाउन संघर्ष गरिररहेको विभागीय टोली त्रिभुवन आर्मी क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिगमा सोमबार नवौं स्थानको जावलाखेल युथ क्लबसँग गोलरहित बराबरीमा रोकिएको छ।

हलचोकस्थित सशस्त्र प्रहरी बल एपिएफ क्लबको मैदानमा भएको खेलमा आर्मीले जावलाखेलको बलियो रक्षापंक्तिलाई चिर्न नसक्दा अंक बाँड्नुपरेको हो। सुरुआतबाट नै खेलमा दबाब कायम राखे पनि आर्मीले पाएका अवसरलाई सदुपयोग गर्न असफल भएको थियो। लिगमा दुई खेल बाँकी रहँदा सुखद नतिजा निकाल्ने उद्देश्यमा रहेको आर्मीको बराबरीसँगै १२ खेलबाट २२ अंक भएको छ।

आर्मी तालिकाको चौथो स्थानमा छ। लिगमा एक खेल बाँकी रहँदा आर्मीले ६ मा जित २ मा पराजय र ४ खेलमा बराबरी खेल्दै अंक बाँडेको छ। लिगको अन्तिम खेलमा आर्मीले तालिकाको पुछारबाट दोस्रो स्थानमा रहेको मच्छिन्द्रसँग प्रतिस्पर्धा गर्नेछ। उता बलियो प्रतिद्वन्द्वी आर्मीसँग अंक खोसेको जावलाखेलको समान खेलबाट  १२ अंक भएको छ। जावलाखेलले जारी लिगमा ३ मा जित, ३ मा बराबरी र ६ खेलमा पराजय भोगेको छ।

लिगअन्तर्गत सोमबार सम्पन्न अर्को खेलमा अंक घट्ने स्थानमा रहेका टोलीद्वय मच्छिन्द्र र न्युरोड टिम (एनआरटी) बीचको भिडन्तमा १० गोल भएका छन्। दुवैले ५–५ गोलको बराबरी खेल्दै अंक बाँडेका छन्। जारी लिगमा सबैभन्दा धेरै गोल भएको यो पहिलो खेल हो। यसअघि कुनै पनि टोलीबीच यति ठूलो स्कोर निस्किएको थिएन। आर्मीले संकटालाई र नवप्रवेशी टोली च्यासलले एनआरटीलाई समान ५–१ ले हराएका थिए। जुन यसअघिको सबैभन्दा ठूलो स्कोर थियो।

हलचोकस्थित सशस्त्र प्रहरी बल एपिएफ क्लबको मैदानमा भएको खेलमा आर्मीले जावलाखेलको बलियो रक्षापंक्तिलाई चिर्न नसक्दा अंक बाँड्नुपरेको हो।

एक खेल बाँकी रहँदा स्पष्ट जित निकाल्ने उद्देश्यमा रहेका पुछारका दुई टोलीको रणनीति सोमबार सफल हुन सकेन। अंक घटुवाको क्षेत्रमा रहेका टोलीद्वय मच्छिन्द्र र एनआरटीले पहिलो हाफ ४–४ गोलको बराबरी खेलेका थिए। चौथो मिनेटमा मच्छिन्द्रले विदेशी खेलाडी भासाडिया डायमन्डेको गोलबाट अग्रता लियो। नवौं मिनेटमा मच्छिन्द्रका दीप कार्कीले उपहार गोल दिए र खेल बराबरी पुग्यो। लगत्तै मच्छिन्द्रका विशाल राईले गोल गर्दै मच्छिन्द्रलाई पुनः अग्रता दिलाए। अग्रता पाएपछि उच्च मनोबलमा रहेको मच्छिन्द्रका लागि खामिर गिलसानले २८औं, अनिल गुरुङले ३०औं मिनेटमा गोल गर्दै अग्रता ४–१ मा पुर्याए।

यद्यपि गर या मरको अवस्थामा रहेको एनआरटीका लागि अशोक थापाले ३३औं र ३५औं मिनेटमा गोल गर्र्दै अग्रता छोट्याए। पहिलो हाफको इन्जुरी समयमा सुशील लामाले पेनाल्टीबाट गोल गर्दै खेल बराबरीमा ल्याए। निकै रोमाञ्चक पहिलो हाफमा ८ गोल भएपछि दोस्रो हाफमा दुवै टोलीले १÷१ गोल गरे। ६४औं मिनेटमा विशाल राईले व्यक्तिगत दोस्रो गोल गर्दै मच्छिन्द्रलाई अग्रता दिलाए पनि ८६औं मिनेट एनआरटीका विदेशी खेलाडी कौआसी इस्माइल योब्युले गोल गर्दै खेल पुनः बराबरीमा ल्याए। बाँकी समयमा दुवै टोलीबाट गोल हुन सकेन र दुवै टोलीले अंक बाँडे।

बराबरीपछि एनआरटीको ६ र मच्छिन्द्रको ७ अंक भएको छ। दुवै टोली अंक घटुवाको क्षेत्रमा छन्। एनआरटी पुछारबाट पहिलो स्थानमा छ भने मच्छिन्द्र दोस्रो  स्थानमा छ।   यस्तै अर्को खेलमा ११औं स्थानको ब्रिगेड ब्वाइज क्लब (बिबिसी)ले १२औं स्थानको फ्रेन्ड्स क्लबलाई ३–० ले स्तब्ध पार्यो। गोलअन्तरका आधारमा मात्र घटुवा क्षेत्रभन्दा एक स्थान माथि रहेको ब्रिगेडले आउँदो खेलमा सुखद नतिजा ल्याए अंक घट्ने स्थानभन्दा माथि रहनेछ।

एन्फा मुख्यालयमा भएको दिनको दोस्रो खेलमा बिबिसीलाई जिताउन विदशी खेलाडी काजिम बुसारीले दुई तथा कारिम नसिहले एक गोल गरे। स्थान सुधारका लागि भए पनि जित्नैपर्ने दबाबमा रहेको बिबिसीले सुरुआतबाट नै विपक्षीलाई दबाबमा राखेको थियो।

१६औं मिनेटमा बुसारीको गोलबाट अग्रता लिएको बिबिसीले ४६औं मिनेटमा उनकै गोलबाट अग्रता दोब्बर पारेको थियो। बिबिसीले इन्जुरी समयमा नसिहको गोलबाट जित सुनिश्चित गर्यो।लिगमा दोस्रो जित दर्ता गराएको बिबिसीको १२ खेलबाट ९ अंक छ। उता पराजित फ्रेन्ड्स समान खेलबाट समान ९ अंक भए पनि गोलअन्तरका आधारमा पछि छ।

लिगमा मंगलबार दुई खेल हुनेछन्। हलचोकमा हुने खेलमा सरस्वती युथ क्लबले च्यासल युथको सामना गर्नेछ भने एन्फा मुख्यालयमा विभागीय टोलीद्वय एपिएफ र नेपाल पुलिसबीच भिडन्त हुनेछ।

आजका खेल
सरस्वतीविरुद्ध च्यासल – दिनको २ः३० बजे (हलचोक)
एपिएफविरुद्ध पुलिस – दिनको २ः ३० बजे (एन्फा मुख्यालय)

प्रकाशित: १७ पुस २०७५ ०४:३३ मंगलबार

‘ए’_डिभिजन_लिग त्रिभुवन_आर्मी_क्लब जावलाखेल_युथ_क्लब बराबरी