खेल

पाखरमा फुटबल हुने

काठमाडौं – सिन्धुपाल्चोकको संयुक्त ठूलो पाखर युवा क्लबको आयोजनामा दोस्रो लिसंखु पाखर कप फुटबल प्रतियोगिता माघको दोस्रो सातादेखि हुने भएको छ। धुम्बाराहीमा शनिबार पत्रकार सम्मेलनमार्फत क्लबले माघको दोस्रो सातादेखि प्रतियोगिता हुने जानकारी दिएको हो। उक्त प्रतियोगिता सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिकमा माघ ११ देखि २२ गतेसम्म सञ्चालन हुनेछ।  

प्रतियोगितामा काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, दोलखा र सिन्धुपाल्चोकका गरी १६ क्लबको सहभागिता रहने प्रतियोगिता संयोजक रविन्द्र दर्नालले जानकारी दिए। प्रतियोगिताको विजेताले २ लाख २२ हजार २ सय २२ र उपविजेताले १ लाख ११ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्नेछन्।

उत्कृष्ट खेलाडीहरूलाई जनही ५ हजार र सर्वोत्कृष्ट खेलाडीलाई १० हजार प्रदान गरिने क्लबका अध्यक्ष देवदोर्जे तामाङले जानकारी दिएका थिए। उक्त प्रतियोगिताका लागि करिब ३५ लाख खर्च लाग्ने क्लबले जनाएको छ। प्रतियोगितामा सहभागी क्लबका खाना, बस्न र यातायात खर्च प्रदान गर्ने आयोजकले जनाएको छ। लिग कम नकआउटका आधारमा हुने प्रतियोगितामा सहभागी १६ टिमलाई चार समूहमा विभाजन गरी खेलाइनेछ। प्रतियोगिताको डिफेन्डिङ च्याम्पियन काभ्रे जिल्ला फुटबल संघ हो।

प्रकाशित: १५ पुस २०७५ ०३:०२ आइतबार

पाखर_युवा_क्लब फुटबल