खेल

अनु र कमलबहादुर वर्ष सर्वोत्कृष्ट खेलाडी

काठमाडौं – नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपिए)को ‘एनएनआइपिए वर्ष सर्वोत्कृष्ट खेलाडी २०७४’ बाट करातेकी अनु अधिकारी र भारोत्तोलनका कमलबहादुर अधिकारी शुक्रबार सम्मानित भएका छन्।

ललितपुरस्थित पाटन दरबार स्क्वायरमा आयोजित अवार्ड कार्यक्रममा एनएनआइपिएले दुवैलाई सर्वोत्कृष्ट वर्ष खेलाडी घोषणा गर्दै जनता बैंकद्वारा प्रायोजित जनहि एक लाख रुपैयाँ र अवार्डबाट सम्मानित गरेको हो। जगराज जोशी आदर्श खेलाडीको अवार्ड भने भारोत्तोलनका पार्थ सारथी सेन गुप्तलाई प्रदान गरिएको थियो।

करिब दुई दशकदेखि खेलकुद पत्रकारितामा कलम चलाउँदै आएका निरञ्जन राजवंशी भने एनएनआइपिए पत्रकारिता पुरस्कारबाट सम्मानित भए। दुवैलाई सम्मानपत्र र नगद २५ हजारबाट सम्मानित गरिएको थियो। संघले ओलम्पिक छनोटको दोस्रो चरणमा पुग्न सफल नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई विशेष सम्मान प्रदान गर्यो। संघले २९ खेलका खेलाडीलाई ‘एनएनआइपिए वर्ष उत्कृष्ट खेलाडी’ अवार्डबाट सम्मानित गरेको छ।

वर्ष उत्कृष्ट खेलाडी अवार्ड पाउने खेलाडीमा फुटबलकी सावित्रा भण्डारी, पौडीकी गौरिका सिंह, तेक्वान्दोकी अस्मिता खड्का, भलिबलका इम रानामगर, टेबल टेनिसका स्यान्टु श्रेष्ठ, सुटिङकी सुस्मिता नेपाल, बक्सिङका पिङ्गला श्रेष्ठ, भारोत्तोलनका कमलबहादुर अधिकारी, लन टेनिसका प्रणव खनाल, सफ्ट टेनिसका युकेस योन्जन, कबड्डीका नागेश्वर थारु, फेन्सिङका जंग गिरी, हक्कीका मनोज चौधरी, स्क्वासका भावना सुनुवार, सेपाकताक्रोका रूपेश सुनार, साइक्लिङका स्वर्गीय नारायणगोपाल महर्जन, खोखोका सन्तोस बोहोरा छन्।

त्यस्तै बास्केटबलका मनिषराज उपाध्याय, तेक्वान्दो सुनिता तामाङ, ब्याडमिन्टनका नङ्सलदेवी तामाङ, ट्रायथलनका वसन्त थारु, ह्यान्डबल बन्दना राई, करातेकी अनु अधिकारी, जुडोकी मनिता श्रेष्ठ प्रधान, उसुका अमर सुनार, आर्चरीका रमेश भट्टचन, एथलेटिक्सकी विश्वरूपा बुढा, गल्फका टंकबहादुर कार्की र कुस्तीका माया लोहा वर्ष उत्कृष्ट खेलाडी घोषित भएका थिए।

सम्मानित हुने २९ खेलका प्रत्येक खेलाडीले समान १० हजार नगद पुरस्कार पाएका छन्। गत वर्षको राखेप च्याम्पियनसिपमा समावेश २९ खेलका एक–एक पुरुष–महिला खेलाडीलाई सम्मानित गरिएको संघका अध्यक्ष दीपक श्रेष्ठले जानकारी दिए।

प्रकाशित: १४ पुस २०७५ ००:४२ शनिबार

एनएनआइपिए अनु_अधिकारी कमलबहादुर_अधिकारी सर्वोत्कृष्ट_खेलाडी