खेल

बोल्टको घातक बलिङ

क्राइस्टचर्च – तीव्र गतिका बलर ट्रेन्ट बोल्टको घातक बलिङप्रेरित न्युजिल्यान्डले बिहीबार तेस्रो टेस्टमा श्रीलंकालाई पूर्ण रूपमा दबाबमा राखेको छ।

दोस्रो दिनको खेल समाप्तिमा न्युजिल्यान्ड २३१–२ मा खेलिहेको छ र टोलीले दोस्रो इनिङमा श्रीलंकालाई ३ सय ५ रनले पछि पारिसकेको छ। टम लाथम अविजित ७४ र रस टेलर अविजित २५ रनमा खेलिरहेका छन्।

२ सय १३ बल खेलेका लाथमले ८ चौका प्रहार गरेका छन् भने २७ बलको सामना गरेका टेलरले ५ चौका प्रहार गरेका छन्। लाथम र टेलरले तेस्रो विकेटका लागि अविजित २४ रनको साझेदारी गरेका छन्। लाथमले पहिलो विकेटका लागि ओपनर जित रावलसँग १ सय २१ र दोस्रो विकेटका लागि कप्तान केन विलियम्सनसँग ६८ रनको साझेदारी गर्दै न्युजिल्यान्डलाई गतिलो सुरुआत दिलाएका थिए। १ सय ८२ बलमा ८ चौकाको मद्दतमा रावलले ७४ रनको योगदान गर्दा विलियम्सनले ७५ बलमा ५ चौका प्रहार गर्दै ४८ रनको योगदान गरे।

यसअघि ८८–४ बाट दोस्रो दिनको खेल सुरु गरेको श्रीलंकाले थप १६ रन जोड्दा बाँकी ६ विकेट गुमाउँदै पहिलो इनिङमा ७४ रनले पछि परेको थियो । पहिलो इनिङमा सम्हालिएको प्रदर्शन गर्न नसकेको न्युजिल्यान्ड १ सय ७८ रनमा सीमित बनेको थियो।

श्रीलंकाको इनिङ ध्वस्त पार्ने क्रममा न्युजिल्यान्डका बोल्टले दोस्रो दिन ४ रन खर्चंदै बाँकी ६ विकेट लिएका थिए। समग्रमा भने उनले ३० रन खर्चिएका थिए।

‘सम्भवतः स्विङ बलिङका लागि यो न्युजिल्यान्डमा भएको उत्कृष्ट मैदान हो। बलले आज सही दिशा लियो,’ बोल्टले भने ,‘मैले पहिलो सेसनमा विकेट लिए हामी खेलमा हाबी हुने अपेक्षा गरेको थिएँ। दुई विकेट लिएपछि मेरो आत्मविश्वाससमेत बढ्यो।’

पहिलो इनिङमा श्रीलंकाका एन्जेलो म्याथ्युजले सर्वाधिक ३३ रनको योगदान गर्दा रोशेन सिल्भाले २१ र कुशल मेन्डिसले १५ रन जोडे। अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकसमेत छुन सकेनन्। ८८ बल खेलेका म्याथ्युजले ३ चौका प्रहार गरे।

सिल्भा र निरोशान डिकवेलालाई टिम साउथीबाट क्याच गराएका बोल्टले सुरंगा लकमल, दिनरुवान परेरा, दुस्मन्था चामिरालाई एलबिडब्लुको सिकार बनाएका थिए।

प्रकाशित: १३ पुस २०७५ ००:२५ शुक्रबार

ट्रेन्ट_बोल्ट न्युजिल्याण्ड_श्रीलंका टेस्ट_क्रिकेट घातक_बलिङ