खेल

‘ए’ डिजिभन लिग : १० खेलाडीमा सिमित च्यासल र एपिएफले अंक बाँडे

तस्बिर साैजन्य : गाेलनेपाल डटकम

काठमाडाैं – पल्सर शहिद स्मारक ‘ए’ डिजिभन लिगअन्तर्गत बिहीबारको पहिलो खेलमा विभागीय टोली सशस्त्र प्रहरी बलको (एपिएफ) र च्यासल युथ क्लबले बराबरी खेलेका छन्। ललितपुको सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) कम्प्लेक्समा भएको खेलमा च्यासल युथ क्लब र एपिएफले १–१ गोलको बराबरी खेल्दै अंक बाडेका हुन्।

पहिलो हाफको ३१औं मिनेटमा सन्तबहादुर गुरुङले गोल गर्दै च्यासललाई अग्रता दिलाएका थिए। च्यासलका विश्व अधिकारीले प्रहार गरेको बल एपिएफका सन्तोषकुमार कटवालले गोल लाइनबाट ‘क्लियर’ गरेका थिए। सोही ‘रिबाउण्ड’ बललाई सदुपयोग गर्दै सन्तले गोल गरेका हुन्। त्यस्तै खेलको ४१ औं मिनेटमा पाएको पेनाल्टीलाई एपिएफका सुदीप शिख्राकारले सदुपयोग गर्न सकेनन्। उनले प्रहार गरेको बललाई च्यासलका गोलरक्षक दिनेश थापाले विफल पारे।

एपिएफका हरी कार्कीलाई च्यासलका देवेन्द्र तामाङले फल गरेपछि एपिएफले पेनाल्टी पाएको थियो। खेलको पहिलो हाफसम्म १–० को अग्रता कायम गरेको च्यासलले दोस्रो हाफमा एक गोल खायो। एपिएफका श्यामकुमार नेपालीले खेलको ५४औं मिनेटमा एक गोल फर्काउँदै खेललाई एक–एक गोलको बराबरीमा ल्याए।

खेलको ७७ औं मिनेटमा च्यासलका गौरव बुढाथोकी दुई पहेँलो कार्डसहित मैदान बाहिरिएपछि च्यासल १० खेलाडी सीमित बनेको थियो। खेलमा ‘म्यान अफ द म्याच’ एपिएफका श्यामकुमार नेपाली घोषित भए। यस खेलसँगै एघार खेल खेलेको एपिएफले १७ अंक जोडेको छ भने समान खेल खेलेको च्यासलको १५ अंक भएको छ।

प्रकाशित: १२ पुस २०७५ ०९:२२ बिहीबार

शहिद_स्मारक_‘ए’_डिजिभन_लिग फुटबल एपिएफ_च्यासल बराबरी